मृ’त्यु भएको ६ वर्ष सम्म पनि पाटनको अल्का अस्पतालमा मालिक कुरेर बसिरहेकी काली !

तपाईंहरूले ‘हाची’ फिल्म हेर्नुभएको छ? कुकुर र मानिसबीचको आत्मीय सम्बन्ध झल्काउने यो फिल्ममा हाची नामको कुकुर आफ्नो मृत मालिक कुर्दै वर्षौंसम्म रेल-वे स्टेसनमा बिताउँछ। यो जापानको वास्तविक घटनामा आधारित फिल्म हो। यस्तै घटना पाटनको अल्का अस्पतालमा दोहोरिएको छ।

जावलाखेलबाट एकान्तकुना जाँदा ओरालोमा दाहिनेतर्फ अल्का अस्पतालको दुई नम्बर गेट छ। यहाँ पछिल्लो ६ वर्षदेखि एउटी पोथी कुकुर आफ्नो मालिक कुरेर बसिरहेकी छे। जीउभरि फुस्रा काला रौं, घाँटी वरपर खैरो। हेर्दा फूर्तिलो देखिने यो कुकुरको नाम ‘काली’ हो। कालो वर्णको भएरै उसको नाम काली राखिएको अस्पतालका कर्मचारी बताउँछन्।

काली अस्पतालसम्म कसरी आइपुगी त? अल्का अस्पतालका प्रशासन प्रमुख भगवान केसीका अनुसार छ वर्षअघि एक युवक बिरामी भएर आएका थिए। उनलाई पहिले क्याबिनमा राखिएको थियो, पछि आइसियुमा सारियो। उनी आइसियुबाट निको भएर घर फर्किएनन्। अस्पतालमै उनको नि’धन भयो र यहीँबाट अन्तिम संस्कार निम्ति लगियो।

‘बिरामी मालिकलाई क्याबिनमा राख्दा यो कुकुर त्यहाँ वरपर बस्थ्यो,’ केसीले भने, ‘अहिले पनि ऊ आफ्नो मालिक पर्खेझैं क्याबिन वरपर नै बसिरहेको छ।’अस्पतालका अन्य कर्मचारीका अनुसार पहिलोचोटि आउँदा काली सानै थिई। रौं चिल्ला र सुकिला थिए।

बिरामी युवकको निधनपछि परिवारका सदस्यले कालीलाई घर फर्काउने कोसिस गरेका थिए। तर काली मान्दै मानिन। ऊ मालिक फर्किने आसमा अस्पतालमै बसिरही।कालीको त्यो पर्खाइ आजसम्म सकिएको छैन। ऊ आज पनि आफ्नो मालिकले अन्तिम पटक छाडेको बाटोमा यताउति दगुरिरहन्छे।

छ वर्षको अन्तरालमा अस्पतालको रङ फेरियो। कालीको शरीरको रौं फुस्रो हुँदै गयो। तर उसको आनीबानी फेरिएको छैन।हामी मंगलबार अल्का अस्पताल पुग्दा काली गेटमै टुक्रुक्क बसिरहेकी थिई। नयाँ मान्छेसँग एकैछिनमा झ्याम्मिने काली हामीलाई नजिक देखेर पुच्छर हल्लाउन थाली। हामीले हातले सुम्सुम्याएपछि ऊ झनै नजिक आई।

अस्पतालका सुरक्षाकर्मी कुमार लामा अल्कामा काम गर्न थालेको दुई वर्ष भयो। उनले आफू आएदेखि कालीलाई यहाँ देखिरहेका छन्।’कालीका बारेमा बुझ्दा ऊ आफ्नो मालिक कुरेर बसेको भन्ने सुनेको हुँ,’ उनले भने, ‘कुनै जनावरमा आफ्नो मालिकप्रति यति धेरै माया हुन्छ भन्ने पहिलोपटक देखेँ।’

कहिलेकाहीँ काली कुनै व्यक्तिलाई पछ्याउँदै परसम्म जान्छे। सायद उसलाई त्यो व्यक्ति आफ्नै मालिक हो कि भन्ने लाग्छ। पर पुगेपछि झस्किएर फर्किने गरेको कुमार बताउँछन्।’अस्पतालमा जचाउन आएका व्यक्तिले माया गर्दा एकछिन पछि लाग्छ, पछि अस्पतालमै फर्किन्छ,’ उनले भने।

हामी पुग्दा पनि काली एक बिरामी कुरूवाको नजिक बसेकी थिई।हामीले अस्पतालका अर्का कर्मचारी ज्ञानीमाया महर्जनलाई पनि सोध्यौं। उनी कुमारभन्दा धेरै पहिलेदेखि यहाँ काम गर्ने थालेकी हुन्। उनले आफू आएदेखि कालीलाई अस्पतालमै देखिरहेकी छन्। *** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ***

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post