झापाको हल्दिवारीबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन् । उनीहरुको साथबाट नगद तथा स्कुटी पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेहरुमा हल्दिबारी ४ बस्ने ३५ वर्षीय जेमिल महमद, बिर्तामोड ५ बस्ने २५ वर्षीय अर्जुन राजवंशी र भारत बिहार प्रान्त किसनगञ्ज जिल्ला बस्ने २८ वर्षीय जम्सेद आलम रहेका छन् ।
सोमबार राति ९ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जेमिल महमद शंकास्पद अवस्थामा हिँडिरहेकोले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ९२ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
महमदलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा राजवंशी र आलम समेत संलग्न रहेको खुलेपछि उनीहरुलाई समेत मंगलबार १० बजे हल्दिबारी ४ बाट नगद ७९ हजार र मे. ६प ५६१९ नम्बरको स्कुटीसहित नियन्त्रणमा लिइएको हो ।
उनीहरुलाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको झापा प्रहरी प्रवक्ता तथा डिएसपी बसन्त पाठकले बताए ।