
काठमाडौं । काठमाडौंको बसाइँ भनेपछि सधैं सधैंको हतार त हुने नै भयो । आज पनि म हतार हतारमै निस्केको थिए । गाडीमा चडेपछि एक बालक देखे जो सबैसँगै माग्दै हिडिरहेका थिए ।
लगाउनलाई खुट्टामा चप्पल थिएन, हाँस्नलाई बहाना थिएन । मनभरी पीडा र बेचैनी प्रस्त देखिन्थ्यो ।बुझ्दै जाँदा थाहा भयो, आमा अस्पतालको सैयामा छट्पट्याइरहेकी थिइन्, अबोध बालक सडकमा उपचारका लागि पैसा माग्दै काठमाडौंको सडकमा भौतारिरहेका थिए ।
आफू सानैदेखि लडिबुडी खेल्दै हुर्किएको उसको प्यारो घर जलेर खरानी भएपछि उनी र उनको परिवारसँग बचेको एउटै कुरा थियो ‘आजको छाक कसरी टार्ने भन्ने चिन्ता तर आमालाई मुटुको रोग देखिएपछि पीडा माथि पीडा थपिएको थियो ।
सलार्ही घर बताउने बालकले स्कुल छाडेको ७/८ महिना भइसकेको छ । घरमा आगलागी भएपछि परिवारमा खान लाउन नै गाह्रो भयो । मजदुरी गरेर पेट पाल्दै आएका बाबुआमाको सम्बन्ध बिग्रियो । दैनिकी नर्क नै बन्यो, बाबु पनि परिवार छाडेर बेपत्ता भए ।
आमालाई मुटुको रोग लागेपछि त झन् सम्पूर्ण जिम्मेवारी बालकमा आइपुग्यो । त्यसपछि उनी काठमाडौंका सडकमा माग्दै हिडिरहेका छन् । पैसा पाएका दिन पेटभर खान पाउँछन् । आमाको उपचारका लागि पनि छुट्याउँछन् । उनी ‘आमाको उपचारका लागि पैसा दिनुस्’ भन्दै मागीरहेका हुन्छन् ।
दिनभरि मागेर जे जति रुपैयाँ जम्मा हुन्छ, त्यो सबै आमालाई बुझाउँछन् । अस्वस्थ आमाको सहारा बनेका बालक भन्छन् ‘काम गर्यो साहुले तलबै दिँदैनन्,’ उनी भन्छन्, ‘आमालाई पनि हेर्नुपर्यो, उपाय नलागेपछि माग्न थालें ।’