सानेपामा प्रधानमन्त्री देउवामाथि खनिए आफ्नै कार्यकर्ता, प्रहरीलाई भीड रोक्न हम्मे-हम्मे

काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो पार्टी कार्यालय सानेपा प्रवेश गर्न खोज्दा आफ्नै कार्यकर्ताले नाराबाजी गरेका छन् ।

सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन् ।

उनीहरुले भ्रातृ संस्थाको केन्द्रीय समितिलाई पूर्णता दिनुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् । प्रदर्शन नियन्त्रणका लागि कांग्रेस पार्टी कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

चुनाव भएको करिब दुई महिना हुन लाग्दा कांग्रेसले बल्ल केन्द्रीय समितिमा चुनावी समीक्षा गर्न आजका लागि बैठक डाकेको छ । यसअघि उपसभापति पूर्णबहादुर खड्का नेतृत्वमा रहेको निर्वाचनसम्बन्धी समिति र उक्त समितिअन्तर्गत केन्द्रीय सदस्य प्रदीप पौडेल नेतृत्वमा रहेको उपसमितिले स्थानीय तह चुनावको समीक्षा गरेको थियो।

कांग्रेसले ७५३ पालिकामध्ये ३२९ पालिका प्रमुख जितेको थियो। गठबन्धन गरेका र एक्लै जितेका ठाउँ र मतबारे विश्लेषणसहित प्रतिवेदन पनि कांग्रेसले तयार पारेको छ।

चुनावी समीक्षाबाहेक केन्द्रीय समिति बैठकमा कोषाध्यक्ष चयन गरिनुपर्ने, संसदीय समिति, कार्यसम्पादन समितिलाई पूर्णता दिनुपर्ने र विभागहरू तथा समितिहरू गठन गरिनुपर्ने एजेन्डा पनि प्रवेश हुने एक केन्द्रीय सदस्यले बताए। सभापति शेरबहादुर देउवाले छ महिनाभित्र गरिसक्नुपर्ने मनोनीत काम अहिलेसम्म गरेका छैनन्। २० जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ।

साथै भ्रातृ तथा शुभेच्छुक संघसंस्थाका महाधिवेशन सुनिश्चित गर्नुपर्ने, नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिनुपर्ने माग पनि उठेको छ। कांग्रेसले केही नयाँ भातृ तथा शुभेच्छुक संघसंस्थालाई मान्यता दिन लागेको छ। यसबारे पनि केन्द्रीय समितिमा छलफल गरी निर्णय लिने कांग्रेसले जनाएको छ।सभापति देउवाले विभाग तथा भ्रातृ संघसंस्थाबारे आवश्यक निर्णय लिइने बताइरहेका छन्। नेता शेखर कोइराला पक्षले सरकारका कामकारबाहीबारे पनि समीक्षा हुनुपर्ने बताएको छ।

आइतबार कोइरालाको सचिवालयमा भएको पदाधिकारी तथा केन्द्रीय सदस्य भेलाले सरकारका कामकारबाहीबारे गम्भीर समीक्षा हुनुपर्ने र सभापतिले विधि र विधान अनुसार काम गर्नुपर्ने निष्कर्ष निकालेको थियो।केन्द्रीय समितिमा हुने अर्को छलफलको विषय आगामी संसदीय र प्रदेश सभा सदस्य निर्वाचनबारे हो। सम्भवत मंसिरमा हुने उक्त निर्वाचनका लागि गठबन्धनलाई सँगै लैजाने कि नलैजाने भन्ने विषयमा केन्द्रीय सदस्यहरूबाट धारणा लिने तयारीमा कांग्रेस छ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा गठबन्धनलाई चुनावसम्मै लैजाने पक्षमा छन्। एक्लै गएर बहुमत नआउने भएकोले अरू दलसँग जानुपर्ने बाध्यता रहेको देउवा बताउँछन्।

Post a Comment

Previous Post Next Post