विनोद शाही मृत्यु प्रकरण: अछाम पञ्चदेवलकी मेयर अम्बिका पक्राउ

अछामको पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छन्।

१७ वर्षीय विनोद शाही मृत्यु भएको घटनामा मृतकका आफन्तले किटानी जाहेरी दिएपछि मेयर चलाउनेलाई प्रहरीले आइतबार पक्राउ गरेको छ।

उनी वैशाख ३० मा भएको स्थानीय चुनावमा नेपाली कांग्रेसबाट निर्वाचित भएकी थिइन्। उनीसहित नेत्र शाही पनि छन्।

तर पक्राउ परेकाहरूको नाम प्रहरीले बताउन चाहेको छैन।

अछामका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले पक्राउ परेकाहरूको नाम अहिले सार्वजनिक गर्न नमिल्ने बताए।

विनोदको हत्या आरोपमा १३ जनाविरूद्ध आफन्तले किटानी जाहेरी दिएका थिए। अहिलेसम्म सात जना पक्राउ परेका छन् भने छ जनाको खोजी जारी रहेको प्रहरीले बताएको छ।

किटानी जोहरी परेपछि कानूनको पालना सबैले गर्नुपर्छ। किटानी जाहेरीमा उल्लेख भएअनुसार केही पक्राउ परे केही आफैँ सम्पर्कमा आएका छन्,’ उनले भने।

विनोद कक्षा १० मा पढ्ने विद्यार्थी हुन्।

उनी गत जेठ १७ गतेदेखि बेपत्ता थिए । उनको शव जेठ २१ गते घर नजिकैको जंगलमा फेला परेको थियो।

यो घटनाको सिआइबीले पनि अनुसन्धान गरिरहेको छ। मृतकका आफन्तले भने हत्या भएको र हत्यामा संलग्नलाई प्रशासनले पहिचान गरी कारबाही गर्न ढिलाइ गरिरहेको भन्दै प्रदर्शन गरिरहेका छन्।

यस बीचमा वैशाख ३० गतेको स्थानीय तह चुनावका विषयमा नेकपा एमाले र नेपाली कांग्रसका कार्यकर्ताबीच झडप भएको र त्यसपछि मृतक बेपत्ता भएको भन्ने एक पक्षको भनाइ थियो।

मृतक शाही एमालेनिकट भएकोले कांग्रेस कार्यकर्ताले उनको हत्या गरेको आरोप लागेको छ।

सोही विषयमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूको सुदूरपश्चिम प्रदेश कमिटीले सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको माग राख्दै प्रदेशका प्रमुख प्रहरी नायव महानिरिक्षक मोहनकुमार आचार्यलाई ज्ञापन पत्र बुझाएको थियो।

यसैबीच विनोदको हत्या आरोपीलाई पक्राउ नगरेको भन्दै अछामका पाँच राजनीतिक दलले आइतबार यातायात बन्द गरेका छन्।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र राप्रपाले आइतबार बिहानैदेखि अछामको यातायात बन्द गरेका हुन्।

दुई दिनका लागि यातायात बन्द गरिएको उनीहरूको भनाइ छ।

प्रहरीले भने यातायात खुलाउने प्रयास भइरहेको बताएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post