
सामान कुरियरको नाममा अनलाइनमार्फत ठगी गर्ने गिरोहलाई गिरोहलाई काठमाडौं उपत्यका प्रहरी अपराध अनुसन्धान कार्यालयले नियन्त्रणमा लिएको छ।हाम्रोबजार डटकममा क्रिश्टोफर पिलग्रिम नाम राखेर करियरको नाममा पैसा तिर्न लगाइ
ठगी गर्ने एक नेपाली र तीन भारतीय नागरिकसहित चार जनाको गिरोहलाई गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र जिल्ला प्रहरी कार्यालय रुपन्देहीसँग समन्वयमा जेठ १३ गते पक्राउ गरिएको हो।पक्राउ पर्नेमा दाङका ५५ वर्षीय मिन बहादुर थापा, भारत हैदरावादस्थित रङरिडी मन्द्रुनगर घर भएका ३३ वर्षीय फेनि कुमार जेट्टी, २४ वर्षीय हेमन्त भुद्दगिरी, ३२ वर्षीय भाष्कर नायक रहेका छन्। उनीहरुलाई ठगी सम्बन्धी कसुरमा आवश्यक कारवाहीको लागि सोमबार जिल्ला प्रहरी परिसर काठमाण्डौंमा पठाइएको छ।
यसरी गर्थे अपराध
प्रहरी अपराध अनुसन्धान कार्यालयकाअनुसार हाम्रोबजार डटकममा ल्यापटप, मोबाइल, क्यामेराजस्ता सामाग्रीहरु बिक्री गर्नको लागि विज्ञापन राखेकोमा पीडितले उक्त सामान किन्न
सम्पर्क गर्दा उक्त पेजमा क्रिश्टोफर पिलग्रिम नाम गरेका व्यक्तिले आफू अमेरिकामा छु, नेपालमा रहेको मेरो साथीलाई ल्यापटप गिफ्ट दिनुपर्नेछ, तपाईलाई कुरियर गरेको चार्ज एक्ट्रा पाँच हजार दिन्छु भनि म्यासेज गरेर ठगी गरेका थिए।
उक्त व्यक्तिले निवेदकको बैंक खाता नम्बरसमेत लिई विक्रम थापाको नाममा आँखा अस्पताल लाइन वडा नं. २ भैरहवा, मोबाइल नम्बर ९८०३४०८३०८ मा उक्त ल्यापटप कुरियर गर्न लगाई ल्यापटपको भुक्तानी र कुरियर चार्जसमेत तपाईको बैक खातामा पठाएको छु भनि विश्वासमा पारेका थिए।
उक्त ल्यापटप विक्रम थापाको नाममा रुपन्देहीको भैरहवामा कुरियर गर्न लगाई लिई ट्याक्स तिर्न तथा स्विपकोड लिनको लागिसमेत भनि मिनबहादुर थापाको नामको एनआईसी एसिया बैंकको खाता नं. ०६१५७५२०१४४७८००१ मा ७० हजार पठाउन लगाएर ठगी गरेका थिए।
यो घटना प्रहरीमा पुगेपछि अनुसन्धान गर्दा गिरोह नै फेला परेको हो। उक्त गिरोहबाट क्यानन् कम्पनीको क्यामेरा थान-१, विभिन्न कम्पनीहरुको ल्यापटप थान-३, सामसङ कम्पनीको ट्याब एस७ थान-१, सामसङ कम्पनीको स्मार्ट घडी थान-१, गितार थान-१, बुद्धको मुर्ति थान-१, विभिन्न कम्पनीका मोबाइल थान-८ र भारतीय रुपैंयाँ १ लाख ६५ हजार बरामद गरिएको प्रहरी अपराध कार्यालयले जनाएको छ।