सिरहाको अर्नामा गाउँपालिका–१ महनौरका सन्तकुमार पालको ११ जेठका लागि विवाह तय भएको थियो । तर १९ वर्षीय सन्तकुमार र उनका बुवा चन्द्रदेव पालको ८ जेठको राति उनीहरु सुतिरहेकै ठाउँमा हत्या भयो ।
गोठभित्रको खाटमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहारबाट उनीहरुको हत्या भएको थियो । उनीहरुको हत्यामा सोही विवाह, दाइजो र पारिवारिक झगडा जोडिएको प्रहरीले जनाएको छ ।
प्रहरीले बाबु छोराको हत्यामा संलग्नको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोलबजार नगरपालिका–४ का ६५ बर्षीय बेचु पाल, अर्नामा गाउँपालिका–४ कि २६ बर्षीया शान्तिदेवी पाल र अर्नामा गाउँपालिका–१ महनौरका ४८ बर्षीय जनिफ मियाँ छन् ।
पक्राउ परेकी शान्तिदेवी मृतक चन्द्रदेवकै बुहारी हुन् । प्रहरीले उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।आफूले भन्दा कम दाइजो लिएर विवाह गर्न लागेको रिसइबीमा हत्या गरेको देखिएको प्रहरीको भनाइ छ ।
विवाहमा सन्तकुमारलाई केटी पक्षले दाइजोस्वरुप १ लाख रुपैयाँ नगद, एउटा मोटरसाइकल र ८ आना सुन दिने सहमति भएको पाइएको सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीले बताए ।
तर सन्तकुमारको विवाह पक्का भएको युवतीसँग गोलबजार बस्ने बेचु पालका छोरा प्रदीको विवाहको कुरा चलेको थियो । त्यतिबेला केटी पक्षले विराटनगरमा घडेरी दिने, घर बनाइदिने र कुनै व्यवसाय सुरु गर्न लगानी गरिदिने प्रस्ताव गरेको देखिएको प्रहरीको भनाइ छ ।
तर प्रदीपले विवाह गर्न तयार भएनन् । ‘प्रदीप तयार नभए पनि उनका बुवा बेचुले ठूलो मात्राको दाइजोको लोभमा उनै युवतीसँग विवाह गर्न दबाव दिइरहे’ डीएसपी बुढाथोकीले भने, ‘प्रदीप दबावका बीच पनि विवाह गर्न तयार नभएपछि सन्तकुमारको विहेको कुरा मिलेको थियो । बेचुले त्यही रिसइबी लिएको देखिन्छ ।’