काठमाडौंको स्वयम्भुबाट मनोज पाण्डे पक्राउ, ८ वर्ष अघि….

आठ वर्षअघि आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस ग्लोबल इन्टरनेशनल’की एक प्रतिस्पर्धीले बुधबार सामाजिक सञ्जालमार्फत आफूमाथि आयोजकमध्येका एकजनाले बलात्कार गरेको खुलासा गरिन् ।

टिकटकमा अपलोड गरिएको २२ वटा भिडियो क्लीप सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा भिडियोहरु भाइरल भए । नेपाल प्रहरीको फेसबुक पेज र ट्वीटर ह्याण्डलाई मेन्सन गर्दै भिडियो शेयर हुन थालेपछि उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाबारे अनौपचारिक रुपमा सूचना संकलन गर्न थाल्यो ।

प्रहरी प्रधान कार्यालय, नक्सालको निर्देशनमा सूचना संकलन थालेको कार्यालयले पीडितले आरोप लगाएकी ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक मनोज पाण्डेलाई खोजी गर्न थाल्यो ।

बानेश्वरस्थित उनको कन्सल्टेन्सी वरपर सादा पोशाकका प्रहरी टोली तैनाथ थिए, तर उनलाई पक्राउ गरिहाल्न प्रहरीसँग कानूनी आधार थिएन । न पीडित प्रहरीको सम्पर्कमा थिइन्, न त प्रहरीकहाँ जाहेरी नै पुगेको थियो । जाहेरी परेको भए पनि जबर्जस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि एक वर्षभित्र जाहेरी दिइसक्नुपर्ने हदम्याद थियो ।

त्यहीबीच आरोपी पाण्डे पोखरा पुगेको खबर प्रहरीले पायो । ‘पक्राउ गरिहाल्न आधार थिएन, हामी बानेश्वरमा कुरेर बसिरह्यौं, उनी पोखरा पुगिसकेका रहेछन्’ अनुसन्धानमा खटिएका एक अधिकृतले अनलाइनखबरसँग भने, ‘उनले गाडी पनि कार्यालय नजिकै छाडेका थिए ।’ पाण्डेको डेरा पनि बानेश्वरमै थियो, उनको मोबाइलको लोकेसन पनि बानेश्वरमै देखिइरहेको थियो ।

शक्रबार पीडितको न्यायका लागि भन्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि युवाको एक समूहले प्रदर्शन गर्‍यो । शुक्रबारै संसद बैठकमा पनि घटनाबारे अनुसन्धान गर्न र बलात्कारको मुद्दामा रहेको हदम्यादबारे पुनर्विचार गर्न आवाज उठ्यो । सभामुख अग्निप्रसाद सापकोटाले घटनामा छानबिन गरेर दोषीलाई कारबाही गर्न सरकारलाई रुलिङ गरे ।

गृह मन्त्रालयले छानबिन गर्न भन्दै प्रहरी प्रधान कार्यालयलाई निर्देशन दियो । कार्यालयले उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन ग¥यो । समितिले शुक्रबारै पीडितलाई भेटेर कारबाही प्रक्रिया अघि बढाउने आश्वासन दियो ।

लगत्तै आरोपी पाण्डेलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याउन खोज्दा उनले उपत्यका छाडिसकेका थिए । स्रोतका अनुसार बानेश्वरमा प्रहरी टोली बसिरहँदा उनी त्यहाँ नभएको थाहा पाएपछि एकजना नातेदारको सहयोगमा प्रहरीले खोजी अघि बढाएको थियो ।

तर आफ्नो कन्सल्टेन्सी र डेरामा प्रहरी पुगिसकेको सुइँको पाएका पाण्डे शनिबार बिहान ७ बजे पोखराबाट काठमाडौं फर्किए, तर डेरातिर गएनन् । ‘स्वयम्भुमा एकजना आफन्तको घर रहेछ, मोबाइल बानेश्वरमा छाडेर त्यहाँ बसेका छन् भन्ने सूचना पाएपछि टोली गएको थियो’ एक अधिकृत भन्छन्, ‘त्यहाँ आफन्तको घरमा बसिरहेको अवस्थामा उनी पक्राउ परे ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post