
नयाँ वर्ष अर्थात् संवत २०७९ साल सौरमानका हिसाबले वैशाख ०१ गते प्रारम्भ हुने गर्दछ, तर बार्हस्पत्य मानले नयाँ वर्षको सुरुवात चैत्र शुक्ल प्रतिपदा अर्थात् यस पटकको हकमा चैत्र १९ गते शनिवार (अप्रिल ०२) देखि सुरु हुँदैछ ।
चैत्र शुक्लपक्षमा पर्ने वारअनुसार वर्षाधिपति र वैशाख ०१ गतेको वारअनुसार कार्याधिपति चयन गर्ने ज्योतिषीय परिपाटी रहेकाले यस वर्षको
राजा शनि र मन्त्री बृहस्पति हुनेछन् । विगतको समयमा विश्वले कोरोना महामारी, अन्तर्राष्ट्रिय परिवेशमा रुस र युक्रेनका कारण युद्धको सन्त्रास र अर्थतन्त्रमा ठूलो उतारचढावको सामना गरेको परिस्थिति रहेको छ भने अब नयाँ वर्ष अर्थात् वि. सं. २०७९ को आगमन हुँदा आमव्यक्ति र देशदुनियाले नयाँ आशा र अपेक्षा गर्नु स्वाभाविक मान्न सकिन्छ । आउनुहोस् संवत् २०७९ मा हुने केही परिस्थितिहरूको आकलन गरौं ।
चैत्र १९ गतेदेखि नै नल नाम गरेको नयाँ संवत्सरको प्रारम्भ हुँदैछ । भास्कर नामक ग्रन्थका अनुसार नल नाम गरेको संवत्सरमा राम्रो वर्षा हुन्छ, तर राजालाई दु:ख र जनताहरू चोरसँग डराउँदछन् । यस वर्षका राजा शनि हुन्, जसका बारेमा बृहत संहिताको ग्रहवर्ष फलाध्यायको अध्याय १९ मा फलादेश गरिएको छ ।शनि वर्षको राजा हुँदा चोर, डाँका र दुष्ट अपराधीहरूको आतङ्क बढ्दछ । आतङ्कका कारण राजनीतिक अस्थिरता, धनजनको क्षति, भय र त्रासले युक्त सामाजिक जीवन जस्ता परिस्थिति सिर्जना हुनसक्छन् ।
रोग र भोकको मात्रामा बृद्धि हुँदा आमजनता शोकको स्थितिमा रहनेछन् । मन्त्री बृहस्पति हुँदा भने आमदुनियाले शुभ परिणाम प्राप्त गर्ने प्रसङ्गसमेत उक्त ग्रन्थमा उल्लेख गरिएको छ । एउटा राम्रो पक्ष के पनि देखिन्छ भने यस वर्षका राजा र मन्त्री दुबै ग्रह यसपटक आआफ्ना घरमा रहनेछन्, जस्तै शनिदेव मकर राशिमा र गुरु बृहस्पति मीनमा राशिमा । त्यस्तै बृहस्पतिउपर राजा शनिको पूर्णदृष्टि रहेको छ, यसको प्रभावले विमान दुर्घटना वा कुनै प्राकृतिक प्रकोपले हानि पुग्छ । उता शनि र मङ्गलको द्विर्द्वादश सम्बन्धले विश्वका केही राष्ट्रमा कुनै विषयलाई लिएर युद्धको माहौल बन्नसक्छ । मित्र राष्ट्रहरूका बीचमा पनि राजनैतिक सम्बन्धमा अचानक फाटो बढ्ने सङ्केत छ । कुनै राष्ट्र विशेषमा भूकम्प, बाढी जस्ता प्राकृतिक प्रकोपले जनधनको क्षति हुनसक्छ । यस संवत्सरले विश्व परिवेशमा पार्ने प्रभावको अनुमान गर्दा यो वर्ष बढेको मुद्रास्फीतिका कारण जनतामा आक्रोश थपिनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि नयाँ वर्ष २०७९ सालमा अधिकतम क्षेत्रमा सफलता प्राप्त हुनेछ । जागिर खानेहरूले कडा परिश्रम गर्नुपर्छ । शिक्षादीक्षाको क्षेत्रमा पनि केही चुनौतीको सामना गर्नुपर्ने हुन्छ, तर उच्च शिक्षाका छात्रछात्राका लागि समय अनुकूल रहनेछ । विदेशमा पढ्ने बाटो खुल्नेछ । बरु यस अवधिमा घरपरिवारको माहौलमा केही धूमिलता देखापर्न सक्छ, पिता वा अभिभावकसँग विवाद पनि हुनसक्छ । प्रेम र प्रणय भावको क्षेत्रमा समय राम्रो रहनेछ । प्रेममय, हर्षोल्लास र उमङ्गको वातावरण रहेको छ, कतिपयले अचानक विवाहको बन्धनमा बाँधिने योजना पनि बनाउन सक्छन् । तर आर्थिक मामिलामा चिन्ता बढ्नेछ । अनावश्यक र फाल्तु विषयमा धन खर्च हुनाले तनावमा बृद्धि हुनेछ । भ्रमण, मनोरञ्जन र भोगविलासको क्षेत्रमा धनको प्रवाह बढ्नेछ, तर धनागमको बाटो खुल्ला रहनेछ । स्वास्थ्य बलियो रहनेछ र कुनै पुरानो रोग छ भने त्यसबाट मुक्ति पाउन सक्नुहुन्छ ।
समग्रतामा यो वर्ष उन्नतिको वर्ष नै हो । विदेश वा लामो दूरीको यात्रा सफल हुनेछ । वाहनादिको प्रबन्धन वा खरिदका लागि राम्रो योग छ । भूमिको क्रय/विक्रयमा सरलता हुनेछ । लोकप्रियतामा बृद्धि हुनेछ । घरपरिवारमा आपसी तालमेल र सामञ्जस्य कमी भए पनि सामञ्जस्यको वातावरण कायम रहनेछ । हाँकेताकेका कार्यहरू सरलताका साथमा सम्पन्न हुनेछन् । व्यवसायिक गतिविधिमा राम्रै देखिन्छ । कुटुम्बका बीचमा कुनै असमझदारी वा तनाव छ भने समाप्त हुनेछ । ठूलाबडासँगको सङ्गतले उन्नतिपथमा अघि लम्कन मद्दत गर्नेछ । विद्यार्थीहरूको पठनपाठनमा ध्यानकेन्द्रित हुनसक्दैन । वैवाहिक जीवनमा राम्रै छ । नोकरीमा सङ्घर्षको स्थिति देखिन्छ । सामान्यतया वैशाख, असार, मङसिर र फाल्गुन महिना कष्टदायी रहनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका लागि २०७९ साल मिश्रित प्रभावका साथमा उपस्थित भएको छ । परिश्रमको फल प्राप्त हुने समय छ । करियरमा उत्तरोत्तर प्रगति हुनेछ, नोकरी र कार्यस्थलमा सफलता पाइनेछ । विद्यार्थीहरूका लागि यो उच्च स्तरको सफलता पाउने समय हो । प्रेमजीवनका लागि समय राम्रो रहनेछ र विवाहित व्यक्तिको घरपरिवार र दाम्पत्य जीवनमा सुखसमृद्धि देखिनेछ ।
तर पनि पतिपत्नी र प्रेमीप्रेमिकाको सम्बन्धमा केही समस्या देखा पर्नेछ, अचानक कलह बढ्ने वा सम्बन्धमा नै फाटो आउने परिस्थितिसमेत रहेको छ । अनावश्यक खर्चमा बृद्धि हुनेछ र आर्थिक मामिलामा केही झमेलासमेत आउन सक्छ । गैरकानुनी र अनैतिक कारोबारमा संलग्न हुनुहुन्छ भने दण्डसजाय भोग्नुपर्ने र अड्डाअदालत धाउनुपर्ने परिस्थिति पनि बन्नसक्छ । स्वास्थ्यपक्षमा सामान्य समस्या उत्पन्न हुनेछ तथा दुर्घटना, चोटपटक र चिरफारको परिस्थिति बन्नसक्ने समय भएकाले स्वास्थ्यस्थितिप्रति गम्भीर बन्ने समय हो ।
समग्रतामा बृष राशि हुने व्यक्तिहरूका लागि यो राम्रो समय साबित हुनेछ, घरपरिवारमा धार्मिक कार्यक्रम सम्पन्न हुनेछ । दाजुभाइ वा दिदीबहिनीबाट सहायता मिल्नेछ । नयाँ घरघडेरी वा सम्पत्ति जोड्न अनुकूल समय छ । धनसङ्ग्रहका निमित्त मातापिताको सहयोग मिल्नेछ । विद्यार्थीहरूमा पठनपाठनको अभिरूचि बढ्नेछ । सन्तति र भाइबहिनीप्रतिको भावनात्मक लगावमा बृद्धि हुनेछ । सरकारी, प्रशासनिक वा कोर्टकचहरीका काममा मन्द गतिले प्रगति हुनेछ । वैवाहिक जीवन सुखी रहनेछ । नोकरीमा बढुवा वा प्रशंसाको योग बनेको छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशि हुने जातकका लागि कार्यक्षेत्र र विद्याध्ययनका दृष्टिले नयाँ वर्ष २०७९ साल उत्कृष्ट समय रहनेछ । नोकरी र व्यवसायमा स्तरबृद्धि र पदोन्नतिको योग बनेको छ । नयाँ रोजगारीको आवश्यकता भएका व्यक्तिको मनोकामना पूरा हुने वर्ष हो । विद्यार्थीहरूका लागि अनुकूल वर्ष हो, अझ प्रायोगिक र प्राविधिक क्षेत्रका शिक्षार्थीलाई तथा अनुसन्धान वा अन्वेषणको क्षेत्रका छात्रछात्रालाई विशेष सामर्थ्य प्राप्त हुनेछ ।
किशोरावस्थाका छात्रछात्रामा उच्छृङ्खलता बढ्ने समय हो । पारिवारिक वातावरण रमाइलो रहनेछ, प्रेमजीवन र दाम्पत्य सम्बन्धमा भने उतारचढाव भइरहनेछ । पुराना जोडीहरूमा पनि विवाद र कलहको योग बनेको छ । व्यर्थ र फाल्तु खर्चको मात्रामा बृद्धि हुनेछ । व्यक्तिगत स्वास्थ्य राम्रो रहनेछ, तर पिताजीको स्वास्थ्यस्थितिमा भने समस्या आउन सक्छ ।समग्रतामा मिथुन राशि हुनेहरूका लागि यो वर्ष अष्टम भावमा बसेको शनिको अढैयाको प्रकोप रहने वर्ष हो ।
कार्यक्षेत्रमा अनेकानेक कठिनाइ र हण्डरठक्करको सामना गर्नुपर्छ, परिणाम मानसिक रूपमा निर्बल बन्ने सम्भावना हुन्छ । स्वास्थ्यसम्बन्धी सानातिना समस्याहरू झेलिरहनु पर्छ । सुरुमा झमेला र सङ्घर्षको स्थिति भए पनि अन्त्यमा कार्य सफल हुनेछ । यस अवधिमा अनावश्यक वादविवाद र कोर्टकचहरीको चक्रबाट जोगिनु बेस हुनेछ । वर्षको मध्यभागमा लामो दूरी वा वैदेशिक प्रयोजनको यात्राको सम्भावना देखिन्छ ।
दाजुभाइ र दिदीबहिनीसँग सुमधुर र आत्मीय सम्बन्ध रहनेछ । जग्गाजमिन र घरघडेरीको क्रयविक्रयको कामबाट लाभ लिन सकिनेछ । विद्यार्थीहरूले राम्रो रिजल्टका लागि निकै मिहिनेत गर्नुपर्ने हुन्छ । वैवाहिक जीवनमा पतिपत्नीका बीचमा वैचारिक मतभेद देखापर्नेछ । नोकरीमा स्थानान्तरणको योग छ, सरुवा हुने वा कामविशेषले घर छाड्नुपर्ने परिस्थिति बन्नसक्छ । सामान्यतया श्रावण, मङ्सिर र चैत्र महिना कष्टदायक मानिन्छन् ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका जातकले नयाँ वर्ष २०७९ सालमा मिश्रित फल प्राप्त गर्नेछन् । जागिर वा रोजगारीको प्रयासमा रहेका व्यक्तिका लागि यो वर्ष चुनौतीपूर्ण रहनेछ । अफिसमा सिनियर कर्मचारीसँग मतभेद हुने सम्भावना छ । छात्रछात्रा र किशोर अवस्थाका व्यक्तिको मन चञ्चल रहनेछ र अध्ययनप्रतिको झुकाव देखिंदैन । व्यवहारिक र स्वास्थ्यगत कारणले पठनपाठनमा बाधा हुनेछ ।
नातागोता, घरपरिवार र कुटुम्बका साथमा झैझगडा र कलहको योग बनेको छ । दाम्पत्यसुखमा पनि त्यत्ति राम्रो फल पाइने छैन । आर्थिक मामिलामा पनि केही चुनौती र कठिनाइको सामना गर्नुपर्ने हुन्छ, उधारो वा सरसापटीमा गएको धनले तनाव बढाउनेछ । तर जगल्लग्नमा राशिपति चन्द्रमा तपाईंको राशिको दोस्रो घरमा बसेकाले बुद्धिकौशल र वाक्पटुताका माध्यमबाट जस्तै विपरीत परिस्थितिलाई पनि सहज बनाउने हिम्मत र साहस जुट्ने समय हो ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशि हुने जातकका लागि नयाँ वर्ष २०७९ साल सामान्य नै रहनेछ । वर्षारम्भमा कार्यक्षेत्रमा दौडधुप गर्नुपर्ने हुन्छ, तर मिहिनेतअनुसार कार्यमा सफलता नै मिल्नेछ । विदेशमा गएर पढ्न रहर गर्ने छात्रछात्राको सपना पूरा हुनेछ । वाक्पटुता र बुद्धिकौशलमा बृद्धि हुनेछ ।
परिवारमा एकता हुनेछ र एकअर्काप्रति प्रेम र सद्भाव बढ्नेछ । पिताको साथसहयोग मिल्नेछ, तर उहाँको कार्यक्षेत्र र स्वास्थ्यस्थितिमा भने समस्या देखिनसक्छ । प्रेमसम्बन्ध, वैवाहिक जीवन र पारिवारिक सुखमा केही निरसता देखापर्न सक्छ । आम्दानीमा सहजता नै देखिन्छ, तर खर्चको मात्रामा पनि बृद्धि भइरहन्छ । स्वास्थ्यपक्ष बलियो देखिन्छ, तर वर्षान्तमा कण्टक शनिको प्रभावले पारिवारिक झैझगडा र कलहको परिस्थिति सिर्जना गर्नेछ ।समग्रतामा यो वर्ष उन्नतिकारक वर्ष हो ।
घरपरिवारमा खुसीको वातावरण देखिनेछ । रोकिएको वा फँसेको धन हात पर्नेछ । विदेश वा वैदेशिक प्रयोजनको कामबाट मनग्ये लाभ पाइनेछ । आर्थिक उन्नतिका लागि गरिएको प्रयासमा सफलता पाइनेछ । सङ्गीत, गायन, चित्रकला वा मनोरञ्जनात्मक क्षेत्रमा रुचि बढ्नेछ । दाजुभाइ र दिदीबहिनीसँग पारस्परिक सम्बन्धमा सौहार्द्रता देखिनेछ । नवीन सम्पत्ति खरीदबिक्रीका लागि उचित समय छ । विद्यार्थीको उच्चशिक्षा वा वैदेशिक प्रयोजनको कामधाममा राम्रो सम्भावना बनेको छ । प्रेमसम्बन्ध र गोप्य सम्बन्धका लागि एकअर्कामा तालमेल र सामञ्जस्य कायम हुने समय हो । सन्तानपक्षको उन्नतिको बाटो खुल्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि नयाँ वर्षले राम्रो फल दिनेछ । यो जीवनको नयाँ आयाम सुरु गर्ने वर्ष हो । विवाह नभएकाहरूको विवाह हुन्छ, छोराछोरी नभएकाले चाहेको सन्तान पाउनेछन्, जागिर छैन भने रोजगारीको नयाँ अवसर प्राप्त हुन्छ अनि सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ भने थप जिम्मेबारी र पदप्रतिष्ठा प्राप्त हुनेछ । वैदेशिक यात्राको योग बनेको छ, नोकरीमा कार्यरत व्यक्तिले नयाँ अवसर प्राप्त गर्नेछन् । सरकारमार्फत सम्मान प्राप्त हुनेछ । व्यापारमा नयाँ दिशा प्राप्त हुनेछ ।
प्राविधिक विषयका विद्यार्थी तथा खेलकुद र साहसी क्रियाकलापमा संलग्न व्यक्तिले पनि राम्रो सफलता प्राप्त गर्नेछन् । अन्य क्षेत्रका शिक्षार्थीका लागि कडा परिश्रमपछि सफलता पाइनेछ । बन्दव्यापार र दाम्पत्यसुखमा सकारात्मक फल पाइनेछ । प्रेमजीवनमा भने उतारचढाव आउनेछ, जिम्मेवार बन्न नसक्दा चलिरहेको प्रेमसम्बन्धमा ब्रेकसमेत हुनसक्छ । धनसम्पत्तिको क्षेत्रमा पनि केही जोखिम र झमेला व्यहोर्नुपर्ने हुन्छ । रकमकलम चोरी हुने खतरा छ ।
समग्रतामा कन्या राशिका व्यक्तिहरूका लागि यो वर्ष शान्तिकारक वर्ष हो । सकारात्मक उद्देश्य र लक्ष्यमा सफलता पाइनेछ । नयाँ जोडी बाँध्न, नवीन रोजगारीका लागि प्रयास गर्न तथा नयाँ सन्तानको योजना बनाउन राम्रो समय छ । पुराना जोडीको जीवनसाथीको स्वास्थ्यस्थितिमा समस्या हुने तथा उतारचढाव आउने समय रहेकाले कुनै चिरफारजन्य रोगको सम्भावनासमेत देखिन्छ । पतिपत्नीमा विनाकारण मतभेद र झैझगडाको परिस्थिति सिर्जना हुनेछ
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशि हुने व्यक्तिका लागि यो नयाँ वर्ष २०७९ साल मिश्रित प्रकृतिको समय रहनेछ, वर्षको अधिकतम समय दौडधूप र सङ्घर्षको परिस्थिति बन्नेछ । चुनौतीका बीचमा काममा प्रगति हुनेछ, हाँकेताकेका लक्ष्यको पूर्ति हुनेछ, कार्यक्षेत्रमा परिवर्तन हुने वा नयाँ कामको थालनी हुने सम्भावना पनि देखिन्छ । निजी क्षेत्रमा कार्यरत व्यक्तिले भने जति खटे पनि जस पाउन नसक्ने समय हो ।
बरु घरपरिवारमा अनेकानेक समस्याहरू एकपछि अर्को गर्दै देखापर्न सक्छन् । तर आपसी तालमेल जसरी भए पनि कायम रहने तथा धनप्राप्तिमा सहजता रहनाले हरेक समस्या र चुनौतीको सरलताका साथमा सामना गर्न सकिनेछ । दाजुभाइका बीचमा मनमुटाव बढ्ने तथा र सम्पत्तिसम्बद्ध समस्या देखा पर्नेछ । प्रेम सम्बन्धका दृष्टिले राम्रै समय छ । शत्रु बलिया देखिन्छन्, तथापि विजय तपाईंकै पोल्टामा पर्नसक्छ । शरीर स्वस्थ रहनेछ । पार्टी, भोजभतेर वा माङ्गलिक कर्मको आयोजना गर्नाले थप व्ययभार बढ्नसक्छ । आम्दानीमा कमी आउने समय होइन, तथापि पुरानो ऋणकारोबार मिलाउन हम्मेहम्मे पर्नेछ ।
समग्रतामा बताउँदा यस वर्ष पनि शनिश्चरको अढैया दशाको प्रभाव रहने समय हो । विगतको सङ्घर्षको परिस्थिति यथावत् रहनेछ । मिहिनेत धेरै गर्नुपर्ने तथा प्रतिफल थोरै प्राप्त हुने समय हो । सन्तान र भाइबहिनीका तर्फबाट शुभ समाचार प्राप्त हुनेछ । भूमि, भवन अथवा वाहन लाभको योग बनेको छ, अथवा उक्त क्षेत्रसम्बन्धी काममा उपलब्धी मिल्नेछ । दाम्पत्य जीवनमा खट्पट र कलहको योग बनेको छ ।
सार्वजनिक क्षेत्रको काममा प्रतिष्ठा मिल्नेछ । लामो यात्रा वा वैदेशिक प्रयोजनको यात्राको योग बनेको छ । विद्यार्थीले पठनपाठनमा रुचि देखाउनेछन्, कुनै विशेष क्षेत्रमा राम्रो रिजल्ट निकाल्न सक्षम बन्नेछन् । प्रेमसम्बन्ध दृष्टिले राम्रो समय छ, सिङ्गल हुनुहुन्छ भने समुचित प्रेमप्रस्ताव आउनेछ । कुनै पर्यटकीय स्थलको यात्रा हुनेछ
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यस वर्षले अधिकतम क्षेत्रमा सफलता दिलाउनेछ, तर केही क्षेत्रमा चुनौती र कठिनाइको सामनासमेत गर्नुपर्ने हुन्छ । पराक्रम र प्रतिष्ठा बृद्धिका लागि परिश्रम गर्नुपर्ने समय हो । सामाजिकता र नेटवर्किङको क्षेत्रबाट लाभ पाइनेछ । तर कतिपय प्रसङ्गमा सङ्घर्षको परिस्थितिसमेत बन्नसक्छ । उता अन्तिमका दुई महिनामा कार्यालयमा सहकर्मीसँग मनमुटाव हुनेछ र मानसम्मानमा दाग लाग्ने परिस्थितिसमेत बन्नसक्छ, सचेत हुनुपर्छ । शिक्षादीक्षाका क्षेत्रमा र विशेषत: छात्रछात्राका लागि यो उत्कृष्ट वर्ष रहनेछ ।
पारिवारिक जीवनका आधारमा राम्रो समय छ । नयाँ घरघडेरी वा जग्गाजमिन आदि स्थिर सम्पत्तिको जोडजाम हुनेछ । घरमा कुनै शुभ कार्य सम्पन्न हुनेछ । व्यक्तित्व विकास हुनुका साथै घरपरिवारमा माया र प्रेमभाव कायम रहनेछ । प्रेमिकासँगको सम्बन्ध सुमधुर रहनेछ । पतिपत्नीको सम्बन्ध पनि मिठासपूर्ण नै रहनेछ । व्यवसायीका लागिसमेत यो अनुकूल वर्ष रहेको छ, कार्यक्षेत्र र बाह्यसम्बन्धमा राम्रो फल पाइने छ, तर सानातिना रोगले सताउन सक्ने समय हो ।
समग्रतामा भन्नुपर्दा बृश्चिक राशिका व्यक्तिका लागि यो वर्ष भनेजस्तो सजिलो रहने छैन । आर्थिक मामिलामा भोगविलास र सुविधाबृद्धिका लागि खर्च बढ्नेछ । घरायसी, पारम्परिक र बाध्यताका खर्चमा ह्वात्तै बृद्धि हुनेछ । आमाको स्वास्थ्यस्थितिमा प्रतिकूलता देखिनेछ । लामो दूरीको यात्रा वा विदेश यात्राको योग त बनेको छ, तर ठगी वा जालझेलमा पर्ने सम्भावनासमेत रहेको छ । कानूनी पक्ष र प्रशासनिक समस्याले बन्नै लागेको काममा पनि अवरोध आउने वा विलम्ब आउने लक्षण छ ।
सन्तानका तर्फबाट चिन्ता बढ्नेछ । दाजुभाइ र दिदीबहिनीका बीचमा तालमेलमा कमी देखिनेछ । प्रेमसम्बन्धका दृष्टिले पनि राम्रो समय छैन । वैवाहिक जीवन र घरायसी परिस्थितिमा पनि कमजोरी देखिन्छ । व्यवसायमा लाभ प्राप्त हुनेछ । जग्गाजमिन, घरघडेरी र स्थिर सम्पत्ति जोड्ने प्रयास सफल हुनेछ । सामाजिक सम्मान र मानप्रतिष्ठामा विकार आएको समय हो, अत: धार्मिक वा नैतिक दृष्टिले अशुभ मानिएका कामबाट टाढा रहनु ठीक हुन्छ । सामान्यतया यस वर्षको जेठ, पुस र चैत्र महिना कमजोर ठहरिनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका व्यक्तिहरूमा राम्रो फल प्राप्त हुने समयका रूपमा नववर्ष २०७९ को आगमन भएको छ । सरकारी सेवामा रहेका व्यक्तिका तुलनामा यो वर्ष निजी क्षेत्र वा स्वतन्त्र व्यवसायीहरूले बढी शुभफल प्राप्त गर्नेछन् । नयाँ व्यापारव्यवसाय सुरु गर्न अनुकूल समय छ, भर्खरै कारोबार सुरु गर्ने व्यक्तिको उत्तरोत्तर प्रगति हुनेछ । प्रतिस्पर्द्धात्मक परीक्षाको तैयारीमा रहेका छात्रछात्राले राम्रो उपलब्धी हासिल गर्नेछन् । त्यस्तै शिक्षादीक्षालाई माध्यम बनाएर विदेशयात्राको योजनामा रहेका व्यक्तिले चाहेको परिणाम प्राप्त गर्नेछन् । तर कार्यक्षेत्रमा अनेकानेक समस्या र हण्डरठक्कर खेप्नुपर्ने समय छ ।
सुरुमा आर्थिक मन्दी हुने तथा कुटुम्ब र परिवारका सदस्यहरूका बीचमा कलहको वातावरण बन्ने परिस्थिति देखिए पनि वर्षान्तमा घरपरिवारका वयोवृद्ध व्यक्तिको सामीप्य र सहयोग पाइने तथा उहाँको मार्गदर्शनले घरको वातावरणमा सुधार आउने सङ्केत छ । प्रेमीप्रेमिका र पतिपत्नीको अन्तर्सम्बन्धमा धूमिलता आउनसक्छ, त्यसैले आपसी व्यवहार र आचरणमा अनुशासित हुनु राम्रो हुन्छ । स्वास्थ्यका दृष्टिले पनि बलियो समय छैन, खुट्टा र आँखासम्बन्धी रोगको जोखिम रहेको छ ।
समग्रतामा धनु राशिका व्यक्तिको खुट्टा (पाउ) मा साढेसातीको प्रभाव रहने वर्ष हो, सं. २०७९ साल । रोजगारीको क्षेत्रमा सामान्य बदलाव आउन सक्छ । चलिरहेको झैझगडा, विवाद वा मुद्दामामिलामा निकास पाउन त्याग गर्नुका साथै मेलमिलापको बाटो अख्तियार गर्नुपर्छ । शत्रु र प्रतिद्वन्द्वीले तपाईंविरुद्ध कुनै न कुनै तानाबुना रचिरहेका हुनेछन्, तर पनि हानि र पराजय भोग्नु पर्दैन । सन्ततिको उन्नतिप्रगतिका लागि राम्रो समय छ, तर स्वास्थ्यस्थिति र आचरणप्रति चनाखो हुनुपर्छ । राज्यपक्षबाट लाभ पाइनेछ । पुरानो कर्जा चुक्ता हुनेछ, वा नयाँ ऋणकारोबारको अनुकूलता मिल्नेछ । फँसेको वा कतै अड्किएको रकमकलम हातपार्न सकिनेछ । धार्मिक कृत्यमा खर्च बढ्नेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि यो समय निकै राम्रो रहेको छ । कार्यक्षेत्र र दैनिकीमा केही चुनौती, बाधा/अड्चन र झमेला त व्यहोर्नुपर्छ, तथापि उन्नतिको पथमा लम्किरहने वातावरण प्राप्त हुनेछ । नोकरीमा पदोन्नतिको योग छ र हाकिम वा अधिकारीबाट प्रशंसा, सम्मान र सहानुभूति मिल्नेछ । रोजगारीको सिलसिलामा विदेश जान सकिन्छ । बन्दव्यापार फस्टाउनेछ । आम्दानीको मार्गमा सहजता आउनेछ ।
ज्ञानगुन र शिक्षादीक्षाको क्षेत्रमा रहेका हरेक व्यक्तिको उद्देश्य सार्थक र फलदायी बन्नेछ । मुख छुच्चो बन्नेछ, माइती, मावली र ससुराली पक्षको अप्रिय समाचार सुन्नुपर्ने हुन्छ । प्रेमसम्बन्धमा राम्रो रहनेछ, दाम्पत्य जीवन पनि सुखमय रहनेछ । बन्दव्यापारमा संलग्न व्यक्तिहरू र निजी क्षेत्रका जागिरेले परिश्रमको पूर्ण फल प्राप्त गर्ने समयावधि हो । स्वयं आँफूलाई तथा घरपरिवारमा कुनै न कुनै रोगले सताइरहने समय हो, वर्षान्तमा आँखाको समस्या र रगत सम्बन्धी रोगले दु:ख दिनसक्छ, सचेत हुनुपर्छ ।
समग्रतामा नयाँ वर्ष २०७९ सालमा मकर राशिका व्यक्तिको हृदयमा शनिको साढेसातीको प्रभाव रहनेछ । मानसिक चिन्तामा बृद्धि हुनेछ । वादविवाद र कलहको वातावरण रहनेछ । निरर्थक दौडधूप र भागम्भाग गर्ने परिस्थिति छ, भनेजस्तो सफलता नमिल्दा थप असन्तुष्टि बढ्नेछ । हरेक काममा बाधा/अड्चन आउने वा दोहोर्याएर गर्नुपर्ने परिस्थिति बन्नेछ । प्रशासनिक समस्या वा कोर्टकचहरीको काममा कुनै निकास देखिंदैन । दाजुभाइसँगको सम्बन्धमा सुधार आउनेछ, तर सन्तानको चिन्ताले सताउनेछ । कुनै नयाँ कामको थालनी गर्ने मनसायमा हुनुहुन्छ भने सफलता प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशि हुने व्यक्तिका लागि यो वर्ष पनि चुनौती र सङ्घर्षले भरिएको समय रहनेछ । तर कतिपय विषयमा कडा मिहिनेत गर्नुका साथै चुनौती झेलेर सफलतासमेत पाउन सकिन्छ । जागिरको खोजीमा रहेका व्यक्तिले आफ्नो परिश्रमको मिठो फल चाख्न पाउनेछन् । सेवारत व्यक्तिले बढुवा वा थप जिम्मेबारी पाउन सक्छन् । छात्रछात्राले पनि सङ्घर्षका बीचमा सफलता पाउने समय हो, तर विद्यार्थी आफ्नो लक्ष्यबाट बाहिरिएर बरालिने स्थिति उत्पन्न हुनेछ ।
यद्यपि कला, सङ्गीत र खेलकुदको क्षेत्रमा सफलता पाउनेछन् । पारिवारिक जीवनमा प्रेमभाव रहनेछ । परिवारका सदस्यहरूबीच सद्भाव कायम रहनेछ र एकअर्काको सम्मान पनि हुनेछ । प्रेमजीवनमा रोमान्स बढ्नेछ । व्यापार/व्यवसायका दृष्टिले समय राम्रो छ र वैदेशिक धनार्जनको योग बनेको छ । स्वास्थ्य पनि राम्रो रहनेछ । गोप्य र आन्तरिक रोगबाट मुक्ति पाइनेछ ।समग्रतामा कुम्भ राशिका व्यक्तिका लागि यो वर्षभरि आद्य र मध्य साढेसातीको प्रभाव रहनेछ । दिनचर्याका हरेक आयाममा सङ्घर्षको परिस्थिति देखिन्छ । कार्यक्षेत्रमा उतारचढावको सामना गर्नुपर्छ ।
स्वास्थ्यसम्बन्धी चिन्ता बढ्नसक्छ । रक्तअल्पता, उच्च रक्तचाप वा कुनै रगतसित सम्बन्धित रोगव्याधि छ भने बढी सतर्कता अपनाउने समय हो, त्यस्तै घरिघरि निराशाबोध हुने भएकाले मानसिक व्याकुलता र अशान्तिले पनि पिरोल्न सक्छ । पारिवारिक र घरायसी समस्याहरूका बृद्धि हुनेछ, आर्थिक पक्षमा पनि लापरबाही नगरेको जाती हुन्छ, किनकि यो व्यवस्थित र सही लेखाजोखाका साथमा रकमको सदुपयोग गर्दा लाभ पाउने समय हो, नत्र ठूलो आर्थिक नोक्सानीको जोखिम बढ्नेछ ।
आजीविकाको क्षेत्र र बन्दव्यापारमा थप मिहिनेत गर्दा केही सुधार हुनेछ । स्थिर सम्पत्ति, घरघडेरी वा सेयर बजारमा पूँजी लगाउनु अघि जान्नेबुझ्ने र बुजुर्ग व्यक्तिको सहयोग लिएको ठीक हुन्छ । विद्यार्थीले जति धेरै मिहिनेत गर्यो, उति धेरै सफलता पाउन सक्नेछन् । चोटपटकको योग बनेको छ, त्यसैले बाटो काट्दा वा वाहनादिमा यात्रा गर्दा सावधान रहनुपर्छ । दिमागलाई गतिशील र शान्त राख्ने प्रयास गर्नुपर्दछ, यसका लागि योग, मेडिटेशन र ध्यानप्रति आकर्षित हुनु ठीक हुन्छ ।सामान्यतया श्रावण, मङसिर र चैत्र महिना कमजोर साबित हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राशिस्वामी बृहस्पतिले बर्षभरि नै तपाईंको आफ्नै राशिमा परिभ्रमण गर्ने भएकाले नयाँ साल २०७९ अत्यन्त सुखद र परिणामदायी वर्षका रूपमा आउँदैछ । यो विद्यार्थीले राम्रो रिजल्ट निकाल्ने समय हो, युवायुवतीको विवाह सम्पन्न हुनेछ, जागिर र प्रतिष्ठाको खोजीमा रहेकाले चाहेको पद प्राप्त गर्नेछन्, गृहस्थीहरूको घरमा माङ्गलिक कार्य सम्पन्न हुनेछ, बृद्धबृद्धाले तीर्थयात्रा गर्ने वा विदेश यात्राको अवसर पाउनेछन् । नयाँ जोडीका लागि बेबीप्लान गर्न पनि उत्तम समय छ । व्यापारव्यवसायमा लाभ पाइनेछ ।
तर छात्रछात्रामा महत्त्वाकाङ्क्षा र हीनभावको विकास हुनसक्छ, सचेत भएर लक्ष्यप्रति उन्मुख हुनु आवश्यक छ । परिवारमा कलह र मनमुटावको वातावरण बन्नेछ, अझ विवाहित जोडीहरूमा कतिपय स्थितिमा विवाद र कलह चर्कने सम्भावनासमेत बनेको छ । माइती, मावली वा चेलीबेटीको घरमा रोग, शोक र भयको योग बनेको छ । आफ्नो मुख छुच्चो बन्ने भएकाले पारिवारिक भेटघाट वा मिलनको समयमा कम बोलेको जाती हुन्छ ।