भएको एकमात्र भाइको पनि मृत्यु भएपछि बुबाको काजक्रियामा ६ छोरीले यसरी गरे

पाल्पाको पूर्वखोला गाउँपालिका–२ जल्पामैदानका छ छोरीले बुबाको काजक्रिया गरेर समाजको पुरानो संस्कार तोडेका छन् । स्थानीय रेवत हिस्कीको ६७ वर्षको उमेरमा निधन भएपछि।

उहाँका छ छोरीले छोरासरह नै हिन्दु संस्कारअनुसार काजक्रिया गरिरहेका छन् ।दिलमाया, तेजमाया, प्रेमकुमारी, मनकुमारी, खेमकुमारी र सिर्जना हिस्की सेतो वस्त्रमा छोराको जिम्मेवारी निभाउँदै काजक्रिया गरिरहनुभएको छ ।

एकातिर शिक्षा र चेतनाको कमीले बुबाआमाको मृत्युपश्चात् काजक्रियामा छोरा नै चाहिन्छ भन्ने पुरानो चलन छ भने विस्तारै मानिस पनि शिक्षित बन्दै गएपछि छोरासरह नै छोरीले जिम्मेवारी पूरा गर्न काजक्रिया बसेको साहिली छोरी प्रेमकुमारी बताउँछिन् ।

साईली छोरी प्रेमकुमारीले बाबाको अचानक मृत्यु हुँदा अन्यौलताका बीच दिदीबहिनीहरुको सल्लाहमै काजक्रिया कर्ममा लागि परेको बताइन्। उनी भन्छिन्, ‘हामीसँग दाजुभाई नभएता पनि दिदीबहिनी जुटे जे पनि गर्न सक्छौं भन्ने लागेर पुण्यकर्ममा लागिपर्यौं।

६ दिदीबहिनीका एक भाईको १० वर्षको उमेरमा लडेर मृत्यु भयो। तर पनि मगर संस्कार अनुसार छोरा नभए पनि छोरी पनि छोरा समान काम गर्न सकिन्छ भनेर आफूहरु क्रियामा बसेको मनकुमारीले बताइन्।

साधारण परिवार भएका कारण पद्यपब्लिक नमूना माविका विद्यार्थी तथा विद्यालयले क्रियाकर्ममा सहयोग समेत गरेको छ। यहाँका स्थानीयहरुले समेत छोरीहरुले गरेको कार्यको खुलेर प्रशंसा र सामाजिक, आर्थिक सहयोग गर्दै आएका छन्।

पद्यपब्लिक नमूना माध्यमिक विद्यालय तानसेनका प्रधानाध्यापक नारायणप्रसाद शर्माले आर्थिक अवस्था कमजोर भएता पनि समाज परिवर्तनमा दिदीबहिनी सबल बनेको बताए।उनले भने, ‘हामी विद्यार्थीहरुसँगै घरमै पुगेर केही सहयोग गर्यौं, समाजमा रहेको अन्धविश्वास चिर्न नानीहरु सफल छन्।

स्थाानीय टोपबहादुर हिस्कीले सुरुमा आफूहरु अन्यौलतामा रहेको भएता पनि दिदीबहिनीको आँट, साहसले समाज परिवर्तन गर्न सक्ने बताए। ६ दिदीबहिनी मध्ये तीन जनाको घरजम भैसकेको छ।

अन्य तीन जना अध्ययन गर्दै छन्। मनकुमारी हिस्की कक्षा १२ मा र सिर्जना हिस्की कक्षा १० मा पद्यपब्लिक नमूना मावि तानसेनमा अध्ययन गर्दै आएका छन्। खेमकुमारी हिस्की स्थानीय शम्भु माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययन गर्छिन्।

राती सुतेको अवस्थामा ६७ वर्षीय बाबु रेवत हिस्कीको अचानक मृत्यु भएसँगै सबै दिदीबहिनी सल्लाह गरेर नै मगर समुदायमा चलन रहेको सात दिनसम्म काजक्रिया गर्न लागिपरेका हुन्। दिदीबहिनीकी आमा टुनासरा र मृतकका माईलो भाई दमबहादुर हिस्की पनि उनीहरुसँगै क्रियामा सामेल छन्।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post