बालबालिका मोबाइल छोड्नै मान्दैनन् भने यसो गरौं..

थुप्रै बालबालिका दशैं विदामा छन् । उनीहरु दशैंको रमझममा रमाइरहेका छन् । कोही चंगा उडाइरहेका होलान्, कोही पिंग खेलिरहेका होलान्, कोही आफ्ना दौतरीसँग उपि|mरहेका होलान् ।

 तर, धेरै शहरिया बालबालिकाले कोठाभित्रै दिन गुजारिहेका पनि हुनसक्छन् । किनभने अहिलेका बालबालिकाहरु हातमा मोबाइल वा टेलिभिजनको रिमोट छ भने दुनिया भुलेर त्यसमै लम्पट हुन्छन् ।मोबाइलमा गेम खेल्ने, भिडियो हेर्ने लत धेरै बालबालिकामा छ । त्यस्तै कतिलाई टेलिभिजनको लत छ । यस्ता बालबालिकाहरु बाहिरी गतिविधिमा त्यती रुची राख्दैनन् । ओछ्यान वा सोफामा ढल्किएर घण्टौं बिताइदिन्छन् । त्यसमाथि कतिपय अभिभावकले बालबच्चा भुलाउनका लागि मोवाइल थमाइदिन्छन् । टिभीको रिमोर्ट दिन्छन् ।

उनीहरुलाई लाग्छ, बालबालिका त्यसमा भुलिएपछि आफुलाई अरु काम गर्न बाधा पुर्‍याउँदैन । बाहिर लड्ने, फोहोर मैला लाग्ने भय पनि हुँदैन । अरुसँग झगडा पनि गर्दैन । तर, बालबालिकालाई बाहिरी गतिविधि गर्नबाट रोकेर कोठाभित्रै मोवाइल वा टेलिभिजनमा लिप्त बनाइरहँदा त्यसले उनीहरुमा कति असर गर्छ भन्ने कुरामा पनि ख्याल गर्नुपर्छ ।जस्तो, बच्चालाई वेपर्वाह टिभी हेर्न छुट दिने हो भने उनीहरुमा के समस्या हुन्छ ? त्यसले केवल समय बर्बाद मात्रै हुँदैन उनीहरुको भाषा, कुरा गर्ने तरिका र व्यवहार पनि प्रभावित हुन्छ । शारीरिक गतिविधिमा त असर पुग्छ नै । धेरै समय टिभी हेर्नाले उनीहरुको खानपानको बानीमा पनि परिवर्तन हुन्छ ।

उनीहरु हरेक समय त्यो चीजको माग गर्छन् जुन टिभीमा देखाइन्छ । उक्त खानेकुरा स्वस्थ छ कि छैन भन्ने कुरासँग उनीहरुलाई कुनै मतलब हुँदैन । यसैले आमाबुबाले उनीहरुको टिभी हेर्ने समय तय गर्नाको साथै उनीहरुलाई कुन-कुन कार्यक्रममात्रै हेर्ने भनेर तोकिदिनुपर्छ । त्यो पनि निश्चित अवधीका लागि ।मोबाइल खेल्न छुट दिइयो भने पनि यस्तै समस्या देखापर्छ । उनीहरु एकै ठाउँ बसेर घण्टौ बिताइदिन्छन् । यो बानी विकास हुँदै गएमा त्यसले निकै जटिलता ल्याउँछ । यसले उनीहरु एकान्तमा बस्न रुचाउने स्वभावका हुन्छन् ।

भोलिका दिनमा समाज वा परिवारमा घुलमिल हुन गाह्रो हुन्छ । मोबाइलमा उनीहरुले हिंस्रक गेमहरु खेल्छन्, जसको मनोवैज्ञानिक प्रभाव डरलाग्दो हुन्छ । त्यसैगरी उनीहरु अश्लिल सामाग्रीको लतमा पनि फस्न सक्छन् । यो कुनै लागुऔषधको दूव्र्यसनभन्दा कम हुँदैन ।अब के गर्ने छ ? – प्रविधिको जमाना छ । बच्चालाई मोबाइलबाट अलग गर्नुपर्छ भन्ने होइन । तर, निश्चित प्रयोजनका लागि, निश्चित समय मात्र मोबाइल खेल्ने छुट दिनुपर्छ । त्यस्तै, टेलिभिजन हेर्ने पनि तालिका बनाइदिनुपर्छ ।

त्यसो त टेलिभिजनमा कतिपय कार्यक्रमहरु निकै उपयोगी हुन्छन्, जसबाट उनीहरुले केही न केही सिक्छन् । त्यस्ता कार्यक्रम हेर्न छुट दिनुपर्छ ।उनीहरुलाई मनपर्ने कार्यक्रमको बारेमा सोध्नुहोस् । अझै सकिन्छ भने सुरुमा केही दिन तपाईं पनि उनीहरुलाई मनपर्ने प्रोग्राम हेर्नुहोस् ।यदि उनीहरु सहि कार्यक्रम हेरिरहेका छैनन् भन्ने तपाईंलाई लागेको छ भने उनीहरुलाई नहप्काइकन मायालु तरिकामा यो राम्रो कार्यक्रम होइन अरु कार्यक्रम हेर भनेर भन्नुहोस् । उनीहरुलाई सकेसम्म जानकारीमुलक कार्यक्रमहरु हेर्न सिकाउनुहोस् ।

लत लाग्न नदिनुहोस् – केही आमाबुबाहरु काममा बच्चाले डिस्टर्ब नगरुन भनेर बच्चाहरुलाई आँफै अगाडि बसाइदिन्छन् । उनीहरुलाई लाग्छ यसो गर्दा बच्चाहरु खुसी हुन्छन् र आफ्नो काम सक्न सकिन्छ । आमाबुबाको यो कदमले बच्चाहरुको व्यत्तित्वमा नकरात्मक प्रभाव पार्छन् ।

यसरी आमाबुबाहरुले बच्चाहरुलाई टिभी हेर्ने लत लगाइदिएपछि बच्चाहरु एकलकाटे हुन्छन् । घरको सोफा वा कुर्सीमा दिनभर बसेर टिभी हेर्ने लतले बच्चाहरुलाई आँफैमा समेटिदिन्छ । साथीहरुसँग खेल्ने कुद्ने, मानिसहरुसँग भेटघाट गर्ने, पढ्ने काममा उनीहरुलाई मन लाग्दैन ।

निन्द्रा प्रभावित नहोस् – मोबाइलमा लिप्त भइरहँदा बच्चाको खाने, बस्ने, सुत्ने, उठ्ने तालिका प्रभावित हुनसक्छ । त्यसैले मोबाइल प्रयोगमा सकेसम्म नियन्त्रण गर्नुपर्छ । त्यस्तै टिभीमा धेरै फिल्म, कार्टुन र हरर फिल्महरु हेर्नाले बच्चाको निन्द्रा प्रभावित हुन्छ ।सुत्ने समयमा पनि उनीहरुको दिमागमा यीनै कार्यक्रमका दृश्य आँउछन् । यसले उनीहरुको सोच्ने बुझ्ने क्षमता प्रभावित हुन्छ । यसैले सुत्नभन्दा पहिले बच्चाले टिभी नहेरुन भन्ने कुरामा ध्यान नदिनुहोस् । यदि बच्चाहरुले टिभी हेरिरहेका छन् भने कम्तिमा पनि हरर फिल्महरु चैं नहेरुन भन्ने बारेमा विचार गर्नुहोस् ।

बाहिरी संसार देखाउनुपर्छ – अहिलेका बच्चाहरु मोवाइल समातेर घरभित्रै दिन बिताइरहेका हुन्छन् । टिभी हेरेर रात गुजारिरहेका हुन्छन् । यसको एउटा कारण चाहि, आमाबुबासँग उनीहरुको लागि समय हुँदैन ।यसैले आफ्नो व्यस्त दिनचर्यामा हरेक दिन केही समय उनीहरुको लागि अवस्य निकाल्नुहोस् । कहिले उनीहरुलाई पार्क, म्युजियम, सपिङमा लैजानुहोस् भने कहिले काहीँ कुनै साथी वा आफन्तको घर लैजानुहोस् । घुमफिर र परिवारसँग समय बिताउनाले उनीहरुको टिभी हेर्ने समय कम हुन्छ ।

रोल मोडल बन्नुहोस् – बच्चा आमाबुबाको व्यवहार र बानीको नक्कल गर्छन् । यसैले यदि तपाईं समय मिल्नसाथै टिभी हेर्ने गर्नुहुन्छ भने उनीहरु पनि यस्तै गर्छन् ।टिभीमा तपाईंले जुन खालका कार्यक्रम हेर्नुहुन्छ उनीहरु पनि यस्तै कार्यक्रम हेर्छन । त्यसैले तपाईंले आँफैलाई परिवर्तन गर्नुपर्छ र राम्रो जानकारीमुलक र सूचनामुलक कार्यक्रमहरु हेर्नुपर्छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post