तीजमा व्रत बस्दा के कुरामा ध्यान पुर्‍याउने? यो जान्नुहोस्


काठमाडौँ —  पारिवारिक जमघटमा हर्षोल्लासका साथ दर खाने दिन मनाइदैँछ । हिन्दु महिलाहरूले मनाउने हरितालिका तीजको अघिल्लो दिन खाइने दरको आफ्नै सांस्कृतिक महत्व रहेको छ ।

 त्यसैगरी तीजको व्रत बस्नु धार्मिक आस्थासँग जोडिएको त छ नै स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक हुने विज्ञहरु बताउँछन् ।जनस्वास्थ्यविज्ञ डा. अरुणा उप्रेती भन्छिन्–‘दर भनेको शब्द दरिलो(बलियो) भन्ने शब्दबाट आएको हो ।’ हिन्दु महिलाहरुले एकदिनअघि मज्जाले दरिलो खाना खाएर भोलिपल्ट व्रत बस्दा शरीरमा कमजोरी आउँदैन भन्ने किसिमको मान्यताले दर खाने चलन चलाएको हुनुपर्छ,’ उनले भनिन् ।

दर खाने चलन पनि समय अनुसार फेरिएको र फेरिनु राम्रो पनि रहेको उनको भनाइ छ । ‘पहिला महिलाहरुसँग पैसा हुँदैन थियो । मिठो मसिनो खान पनि अरुसँग पैसा माग्नुपर्थ्यो । अब महिलाहरु शिक्षित भइसकेका छन् । काम गर्न थालेका छन् । आफ्नो पैसा आफैं प्रयोग गर्न थालेका छन्।’ उनी पारिवारिक जमघटमा मात्र दर खाने चलन अहिले आएर सामाजिक जमघटमा फैलिएर खाने चलन राम्रो भएको बताउँछिन् ।

उनले व्रतले शरीरका लागि फाइदा हुने बताइन् । उनका अनुसार स्वस्थ्य मानिसले हप्ता वा महिनाको एकचोटी व्रत बस्नु शरीरका लागि राम्रो हो तर स्वास्थ्यको दृष्टिकोणले एकदिन अगाडि अटेसमटेस गरेर राति १२ बजेसम्म नसुती दर खाएर भोलिपल्ट उपवास बस्नुको केही अर्थ नरहेको डा. उप्रेतीको भनाइ छ ।

दर खाँदा मिष्ठान्न भोजन धेरै खाइने भएकाले धेरै चिल्लोयुक्त तथा गुलियो खानु हुँदैन । डा. उप्रेती भन्छिन्– ‘दर रमाइलो गरेर स्वस्थ्यकर खानुपर्छ । खानेकुरा पकाउँदा धेरै चिल्लो पिरो हालेर नपकाउने । दर खाने नाममा बजारका धेरै रंगीचंगी मिठाई खानु हुँदैन । रंगजन्य खानेकुराले राम्रो गर्दैन ।’

नर्भिक अस्पतालकी पोषणविद् प्रनिती सिंहले सकिनसकी व्रत बस्नु शरीरका लागि बेफाइदाजनक रहेको बताउँछिन् । उनका अनुसार तीजको होस् वा अरु स्वास्थ्यका दृष्टिकोणले व्रतका विभिन्न फाइदा रहेका छन् । जस्तै:व्रत बस्दा शरीरले डिटक्स गर्दछ । जस्तै, १२ घण्टा व्रत बस्दा बोसोपनि घट्दै जान थाल्छ । हामीले खाइरहेको खानामा विषाक्त पदार्थ पनि हुन्छ त्यो कोषिकामा गएर बसिराखेको हुन्छ त्यो पनि व्रत बस्दा निस्किन्छ ।

व्रत बस्दा हाम्रो शरीरमा रहेको ह्युमन ग्रोथ हर्मन बढ्छ र त्यो बढ्यो भने मेटाबोलोजिम राम्रो हुन्छ । मांसपेशीलाई अक्सिजन पाएर राम्रो विकास दिन्छ ।१६ घण्टाको व्रत बस्दा हाम्रो शरीरमा कोषिकाहरुको प्रक्रिया हुन्छ जुन पछि नचल्ने तथा गलेको हुन्छन् त्यसलाई रिन्यु गर्न थाल्छ । पुरानो कोषिका मर्दै जान्छ र नयाँ कोषिका बन्दै जान्छ ।हामीले खाना नखानु वा व्रत बस्नु भनेको शरीरलाई चाप दिएको हो । खाना नपाउदाको अवस्थामा हाम्रो शरीरको कोषिकाले कसरी अपडेट गर्ने भनेर सामना गर्ने क्षमता बढाउँछ ।

कस्ता व्यक्तिले व्रत बस्नुहुन्न?

गर्भवती महिला, स्तनपान गराइरहेका महिला

१३ वर्ष मुनिका बालबालिकाहरु

मधुमेहका समस्या भएका मान्छ

रक्तचाप कम भएका व्यक्ति

इटिङ डिसअर्डर भएकाले

ग्यास्ट्रिकको समस्या भएकाले

धेरै औषधि सेवन गरिराखेकाले

प्रनिती कुनै पनि व्यक्तिले सकी नकसी व्रत बस्न नहुने सुझाउँछिन् । उनका अनुसार मधुमेहका समस्या भएका व्यक्तिले व्रत बस्दा सुगर लेभल एकदम कम हुन सक्ने अवस्था आउँछ जसले गर्दा मान्छे रिंगटा लाग्ने अनि बेहोस पनि हुन सक्छ ।त्यसैगरी कम तौल भएका र कमजोर व्यक्तिले व्रत लिनु राम्रो नहुने उनको भनाइ छ ।उनी पनि तीजमा स्वस्थ्यकर खानेकुरा खान सुझाव दिन्छिन् । प्रनिती भन्छिन्–‘पहिले दर खाँदा घरकै शुद्ध खाने चलन थियो तर अहिले रेष्टुरेन्टका खाना तथा मदिराजन्य पदार्थ बढी चल्न थालेको छ जुन शरीरका लागि राम्रो होइन ।’

उनका अनुसार व्रत बस्नुभन्दा अगाडी खाइने चिल्लो तथा जंक फुडजस्ता खानाले शरीरलाई ‘डिटक्सिफाइ’ हुन दिँदैन । ‘हाम्रो शरीरले अघिल्लो दिन खाएका ती खानेकुरा नै सफा गर्न समय लगाउँछ । अर्कोतर्फ मदिराले याशरीरलाई डिहाइड्रेट गर्छ जसले गर्दा अर्को दिन झन् बढी प्यास लाग्छ,’ उनले भनिन् ।संस्कृतिभन्दा स्वास्थ्यका हिसाबले व्रत बस्न इच्छुकले कस्तो खालको व्रत बस्दा शरीरलाई फाइदा गर्छ भनेर पोषणविदसँग सल्लाह लिएर मात्र गर्नेपर्ने उनी बताउँछिन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post