बाँसको भाटाले बारेको सानो झुपडीमा बस्छन् तर सित्तैमा केही लिँदैनन् ७१ बर्षीय रिट्ठे बिश्वकर्मा

बाँसको भाटाले बारेको सानो झुपडीमा बस्छन् तर सित्तैमा केही लिँदैनन् ७१ बर्षीय रिट्ठे बिश्वकर्मा पर्छन् खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका ७१ वर्षका रिट्ठे बिश्वकर्मा ।

आफन्तको बारीको कान्लामा बाँसको भाटाले बारेको, खरको छाना हालेको सानो झुपडीमा बस्छन् उनी । ढाड बाहिर निस्कँदा कुप्रो परेका रिट्ठे शारीरिकरुपमा अशक्त छन् । बिहे गरेको चार वर्षमै श्रीमतीको मृत्यु भएपछि उनी झुपडीमा एक्लो छन् । एक्लो ज्यान, त्यसमाथि शारीरिक अपांगता ।

झुपडीमा अभावै अभाव छ तर अरुले दया गरेर दिएको जुनसुकै चिज ठाडै अस्वीकार गर्छन् । शारीरिक रुपमा अशक्त भएकाले उनलाई तत्कालिन गाबिसबाट सामाजिक सुरक्षाभत्ताको व्यवस्था गरियो । तर, त्यो बेला रिट्ठेलाई भत्ता बुझ्नका लागि तयार पार्न तत्कालिन वडाध्यक्ष जगुमान बिश्वकर्मालाई हम्मे–हम्मे पर्‍यो ।

उनले ‘सित्तैमा आएको भत्ता लिन्न’ भनेर अड्डी कसेपछि कतिपय शुभेच्छुक अक्क न बक्क बने । ‘राज्यले नागरिकलाई दिएको सुविधा हो ऋण होईन’ भनेर सम्झाई–बुझाई गरेपछि बल्ल उनी अपांगताको भत्ता थाप्न तयार भएको स्थानीय एवं जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्मा बताउँछन् ।

अहिले फुसको छाना हटाएर जस्ताको छाना हाल्ने अभियान अन्तरगत नेपाल सरकारको सुरक्षित नागरिक आवास कार्यक्रम चलिरहेको छ । सुरक्षित नागरिक आवास कार्यक्रमले रिट्ठे जस्ता निम्न आर्थिक अवस्थामा परिवारलाई छुटाउने कुरै भएन । तर, जस्ताको छाना हाल्दिने वा नयाँ घर बनाइदिने कुरा गर्दा रिट्ठे ठाडै अस्वीकार गर्छन् । ‘अहँ !

सरकारले बनाको घरमा नबस्ने । गाउँजेले बनाइदिए भने बस्ने ।,’ रिट्ठेले भने, ‘यस्तैमा बस्ने । नचुहिने भए हुन्छ मलाई । ढाल्नेले भएपनि बाक्लो पारेर छाएर नचुहिने भए हुन्छ मलाई । राम्रो गतिलो चाहिएन । हिँड्दा खेरी माया नलाग्ने, मरेर जाँदा माया नलाग्ने । बाँचुञ्जेल बस्दा पानी नचुहिने चाहिएको हो मलाई । त्यत्ती हो ।’

रोजगारीका सिलसिलामा कतारमा बसिरहेका युवाले उनको दयनीय अवस्था देखेर सहयोग उठाएर घर बनाइदिने प्रस्ताव पनि राखेका थिए तर उनले इन्कार गरे । छरछिमेकीले बनाइदिएको घरमा मात्र आफू बस्न तयार रहेको उनी बताउँछन् । ‘मरेपछि टिन लाको घरमा बस्न पाइँदैन, गएर कहाँ रुझ्दै कुहेर बस्नु पर्छ,’ उनले भने, ‘जलसागर लगेर डढायौं भने कहाँ पुगिन्छ । अनिखेर गतिलो घर बनाएर के गर्नु !’

रिट्ठे सित्तैमा कसैको केही पनि लिन चाहन्नन् । लिन परे केही दिएर मात्र वा फिर्ता गर्ने शर्तमा मात्र लिन तयार हुने उनको स्वभाव छ । गत वर्ष कोभिड–१९ को महामारीका बेला दिप्रुङ चुईचुम्मा गाउँपालिकाले चामल, दाल, नुन, तेल बाँड्दा साराले राहत थापे । तर, उनले गाउँपालिकाको सो राहत लिएनन् ।

उनको भागको राहत अर्कैलाई दिइयो । अशक्त, वृद्धावस्था त्यसमाथि एक्लो ज्यान भएकाले आफन्तले रिट्ठेको घरमा सोलार वा विजुली राखिदिने कुरा गरे तर उनले नमानेको जिल्ला समन्वय समितिका सदस्य बिश्वकर्माले बताए । कतिसम्म भने दाजुभाई तथा छरछिमेकमा पुग्दा समेत उनी हमेसा खाना खान मान्दैनन् ।

खान परे केही न केही काम गरिदिएर मात्र खान्छन् । खाना खान परे कुचो बाट्ने, दाम्लो बाट्ने वा चोया काढ्ने काम गरिदिन्छन् । दया–मायाँमा कसैले पैसा, लुगा, खानेकुरा दिन खोजे भने थाप्दैनन्, बरु रिसाउँछन् । यद्यपी, उनी ढोँगी होइनन् ।सित्तैमा कसैको केही खान हुन्न भन्ने मान्यतामा उनी सँधै अडिग छन् ।

सित्तैमा भेट्दा ‘अलकत्रा’ बाँकी नराख्ने आम प्रवृत्तिका बिचमा रिट्ठे अपवाद हुन् । उनी आफ्नो तस्बिर खिच्न पनि जोसुकैको अगाडि तयार हुँदैनन् । बाबुआमा वितेपछि चार दशकअघि रिट्ठे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा बसेरीबाट बतासे बसाइ सरेका हुन् ।

उनका बाबुआमा पनि शारीरिक रुपमा अपांग नै थिए । उनको नाममा जग्गा जमिन केही छैन । त्यही भएर हाल उनी मेघराज बिकको बारीको गर्‍हामा टहरा बनाएर बसिरहेका छन् । उनी कुखुरो पाल्छन् । आफ्नो घर मर्मत गर्न वा छाउन सघाउने छिमेकीलाई त्यही कुखुरो दिएर पठाउँछन् ।

उनको घरमा पुग्ने जो कोहीलाई केही न केही नखुवाइ हिँड्न दिँदैनन् ।मिस्त्रीको टुक्रा किन नहोस्, नरिवलको एक टुक्रा किन नहोस्, सुक्मेलको दाना किन नहोस्, कुखुराको अण्डा किन नहोस् मुख जुठो नपारी पठाउने उनको बानी छैन । ‘घरमा केही छैन तर सित्तैमा केही लिन मान्दैन ।

यो रिट्ठेको महानता हो । उहाँजस्ता दिल भएका मान्छे कमै भेटिन्छन्,’ जिसस सदस्य बिश्वकर्माले भने, ‘यो जन्ममा यस्तो छु, सित्तैमा लिएँ भने अर्को जन्ममा झन् कस्तो जन्मन्छु भन्नुहुन्छ । उहाँले नेपाल सरकारले दिएको भत्ता बाहेक अन्य सुविधा लिन मान्नु भएको छैन ।’

एक्लो मेहनतले उत्पादन भएको अन्नले पाँच/छ महिना धान्न धौ–धौ पर्छ । उनले चोयाबाट चित्रा, फुङगा, चुइयाँ बुनेर आउने आम्दानी जोडजाड गरेर वर्ष कटाउँने गरेका छन् । न राम्रो खाने व्यवस्था न बस्ने ठाउँकै । त्यही पनि उनी आफ्नै जीवनशैली रमाइरहेका छन् ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post