एकै परिवारका तीन जनाको हत्या घटना: जंगलमा भाइको, बुहारी र भतिजलाई खोलामा खुकुरी प्रहार गरी हत्या गरे पछि ...

उदयपुर। जिल्ला प्रहरी कार्यालय उदयपुरले गोवाटारमा भएको एक परिवारका तीन जनाको सामूहिक हत्या घटनाका आरोपीलाई सार्वजनिक गरेको छ।

उदयपुरको बेलका नगरपालिका–७ मैनामैनी गोवाटार बाबिङ खोलामा गत शुक्रबार एकै परिवारका तीन जनाको हत्या आरोपमा पक्राउ गरिएका आरोपीलाई आइतबार जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो।

घटनामा संलग्न आरोपी बेलका नगरपालिका-७ गोवाटार बाबिङखोलाका ४३ वर्षीय नरबहादुर बस्नेतलाई सार्वजनिक गरेको हो। मृतकको आफन्त पर्ने बस्नेतले ३ जनालाई घरयासी विवादमा खुकुरी प्रहरी गरी हत्या गरेको स्वीकार गरेका छन्।

हत्या पश्चात फरार रहेको बस्नेतलाई ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले बेलका नगरपालिका-६ बरबोटेमा भाग्दै गरेको अवस्थामा हत्यामा प्रयोग गरिएको कुखुरीसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बेलका नगरपालिका-७ गोवाटारस्थित बाबिङ खोलामा एकै परिवारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता बस्नेत र १२ वर्षीय छोरा सुजन बस्नेतको शव फेला परेको थियो।

आरोपितले राजकुमारसहित उनकी श्रीमती र छोरालाई एकान्त स्थान बाबिङ खोलाको धान खेत नजिक खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए।

घटना बिहान साढे ११ बजे भएको भए पनि एकान्त ठाउँमा भएका कारण प्रहरीले दिउँसो ३ बजे घटनाको बारेमा जानकारी पाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। घरदेखि खेती जाँदै गरेका ३७ वर्षीय भाई राजकुमार बस्नेत, ३३ वर्षीया बुहारी सरिता र १२ वर्षीय भतिज सुजन बस्नेतको उनले हत्या गरेको प्रहरी आरोप छ।

बाबिङ खोलामा रहेको खेतमा धान गोड्न गई रहेका राजकुमारको परिवारलाई उनले एकै चिहान बनाएको प्रारम्भिक बयानमै स्वीकारेका प्रहरीले जनाएको छ। खुकुरी भिरेका नरबहादुरले भाइ राजकुमारलाई बाटैमा छप्काएर ढालेपछि खेत पुगिसकेका बुहारी सरिता र भतिज सुजनलाई खोलामा काटेर हत्या गरेको स्वीकारेका प्रहरीले जनाएको छ।

एकान्त ठाउँमा रहेको खेतमा शुक्रबार बिहान ११:०० बजेको घट्नाबारे ३/४ घण्टासम्म कसैलाई जानकारी थिएन। कसैले नदेखेको हुनाले निर्धक्क घटना घटाएर हिँडेका बस्नेतलाई प्रहरीले पक्राउ गरेको थियो।

मृतक र हत्या आरोपितका बाजेहरु दाजुभाइ हुन्। घरायसी बिवादले उग्ररुप लिँदा हत्या हुन पुगेको अनुमान प्रहरीले गरेको छ। हत्या आरोपित बस्नेतले आफूलाई प्रहरीमा लगेर थुनाउछु मात्र भन्ने गरेकाले खेतीमा गएको मौका छोपी बाटो ढुकेर जंगलमा लुकेर बसी राजकुमारको हत्या गरेको बयानमा भनेका छन्।

त्यसपछि बुहारी र भतिजलाई पनि खेतबाट लखेट्दै खोलामा लगेर हत्या गरेको उनले बताएको प्रहरीले जनाएको छ। पक्राउ परेका हत्या आरोपी बस्नेतलाई आइतबारै जिल्ला अदालत उदयपुरबाट ७ दिनको म्याद थप गरी मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post