दुखद घटना- २ जना महिलाको मृत्यु, ५ जना घाइते

सल्यानमा अटोरिक्सा दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरकी ३६ वर्षीया धनीकुमारी पुन र अन्दाजी ६० वर्षीया कमलाकुमारी पुन रहेका छन् ।

दुवै जनाको जिल्ला अस्पताल पुर्‍याए लगतै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले जानकारी दिए ।

दुर्घटनामा २१ वर्षीया अमृता बबाल र उनका चार वर्षीय छोरा कृष्ण बबाल, मृतक धनीकुमारी पुनकी ६ वर्षीया छोरी अस्मिता पुन घाइते भएको जिल्ला प्रहरी प्रहरी निरीक्षक खनालले बताए ।

अन्य दुई घाइतेमध्ये चालक र अर्का एक जनाको नाम खुल्न सकेको छैन । घाइतेको जिल्ला अस्पताल खलंगामा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक सन्तोष खनालका अनुसार कालीमाटी गाउँपालिका वडा नम्बर-१ लक्ष्मीपुरदेखि टोटाबाज जाँदै गरेको रा१ह २२१९ नम्बरको अटोरिक्सा शारदा नगरपालिका वडा नम्बर-१० नयाँ बस्तीमा सोमबार साँझ साढे ५ बजेतिर दुर्घटनामा परेको हो ।

यसैबीच रौतहटमा चट्याङ लागेर तीन जना महिलाको मृत्यु भएको छ। मंगलबार बिहान साढे ७ बजे रौतहटको गरूडा नगरपालिका-३ मलाहीचोक बस्ने तीन जनाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिल मल्लले जानकारी दिए।

मृतक सोही ठाउँ बस्ने सुदनीयादेवी सहनी, उनकी १७ वर्षीया छोरी जगियाकुमारी र स्थानीय रूप नारायणकी १८ वर्षीया छोरी मनिषा सहनी छन्। उनीहरूको गरूडास्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डिएसपी मल्लले बताए।

यस्तै चट्याङ लागेर एक जना घाइते समेत भएका छन्। सोही ठाउँमा बस्ने ४० वर्षीया सहेलीदेवी सहनी घाइते छिन्। उनको पनि सिटी अस्पतालमा उपचार भइरहेको छ।

उनी खतरामुक्त भइसकेको प्रहरीले जनाएको छ। बिहान उनीहरू चारै जना सोही ठाउँका शरद सहनीको धानखेतमा काम गरिरहेका थिए। त्यसक्रममा उनीहरूलाई चट्याङ लागेको हो।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post