२ वर्षकी बालिकाले ५ जनालाई नयाँ जीवन दिएर आफुले मृ’त्युवरण गरिन्

काठमाडौं। आफ्नो जीवनको केवल २० महिना मात्रै बिताउन पाएकी एक बालिकाले अन्ततः अन्य ५ जना बालबालिकालाई नयाँ जीवन दिएर मृत्युवरण गरेकी छिन् ।

दुर्घटनामा परेकी धनिष्ठा नामकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डेड घोषित गरेपछि उनका मातापिताले उनका अंग दान गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् । उनको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको छ ।

धनिष्ठा ८ जनवरीमा खेल्दै गर्दा घरको पहिलो तलाको बाल्कोनीबाट खसेकी थिइन् । उनलाई सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो । ११ जनवरीका दिन उनलाई ब्रेन डेड घोषित गरियो ।

धनिष्ठाका पिता आशिष कुमारले समाचार एजेन्सी आइएएनएससँग भने ‘डाक्टरहरुले हामीलाई धनिष्ठा ब्रेन डेड भइसकेको र उनी ठिक हुने कुनै सम्भावना नभएको बताउनुभयो ।

जतिबेला हाम्री छोरी अस्पतालमा भर्ना थिइन् त्यतिबेला हामीले यस्ता अभिभावकहरु भेट्यौं जो आफ्ना बच्चाको ज्यान बचाउनको लागि अंग पाउने प्रतिक्षा गरिरहेका थिए ।

आशिषले अगाडि भने ‘हाम्री छोरी ब्रेन डेड भइसकेकी थिइन् । मैले डाक्टरसँग हामीले छोरीका अंग दान गर्न सक्छौं कि भनेर सोधें । डाक्टरले हामीले यस्तो गर्न सक्ने बताउनुभयो ।

म र मेरी पत्नीले अरु बालबालिकाको ज्यान बचाउनको लागि हाम्री छोरीलाई गाड्नुको सट्टा उनको शरीर दान गर्ने निर्णय गर्यौं । कम्तीमा हामीलाई यो कुराको सन्तुष्टि त हुन्छ कि हाम्री छोरी अब उनीहरुमा जीवित छिन् ।

सर गंगाराम अस्पतालका अध्यक्ष डा. डीएस राणाले भने ‘मस्तिष्कबाहेक धनिष्ठाका सबै अंगले राम्रोसँग काम गरिरहेका थिए । मातापिताको मन्जुरीपछि उनको मुटु, मृगौला, कलेजो र दुवै कर्निया अस्पतालमै प्रिजर्भ गरिएका थिए ।

उनका दुवै मृगौला एकजना वयस्कलाई, मुटु र कलेजो दुई अलग अलग बच्चाहरुलाई दिइयो । कर्नियालाई अझै पनि सुरक्षित राखिएको छ जो दुई जनालाई दिइनेछ । यसरी धनिष्ठाले ५ जनालाई नयाँ जीवन दिएकी छिन् ।’

Post a Comment

Previous Post Next Post