निकै दुखद खबर : आगलागीबाट ३८ वटा घर जले, पुरै बस्तीमा रुवाबासी

सर्लाही र दोलखामा भएको आगलागीमा ३८ वटा घरगोठ जलेका छन् । आज दिउँसो रामेछाप नगरपालिका–७ सुकाजोरमा आगलागी हुँदा २२ घरगोठ जलेका छन् 

रामेछापमा विद्युत् सर्ट भइ आगलागी हुँदा एकै गाउँका ११ वटा घर र ११ वटा गोठ गरी २२ वटा घर गोठ जलेर नष्ट भएका हुन् । आज दिउँसो स्थानीय विनोद श्रेष्ठको घरमा विद्युत् सर्ट भइ आगलागी सुरु भएको थियो ।श्रेष्ठको घरमा लागेको आगो हावाहुरीका कारण नजिकका छिमेकी चिरञ्जीवी श्रेष्ठ, ठेगबहादुर मगर, हिमाल श्रेष्ठ, एकलाल श्रेष्ठ,

दलबहादुर मगर, ईश्वरलाल श्रेष्ठ, तेजबहादुर श्रेष्ठ, धनबहादुर श्रेष्ठ, शङ्कर श्रेष्ठ र प्रेमकुमार श्रेष्ठका गरी ११ वटा घर र ११ वटा गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक राजकुमार थिङले जानकारी दिनुभयो ।आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा निभाइएको छ ।

आगलागीले नगद, अन्नपात, लत्ताकपडा लगायतका सामग्री जलेका छन् । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भइरहेको पनि प्रहरी नायब उपरीक्षक थिङले बताउनुभयो । अहिले पीडितका लागि अस्थायी टहरा बनाउने काम भइरहेको रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले जानकारी दिनुभयो ।

तत्काललाई खाद्यान्न र लत्ताकपडा नेपाली सेना र रामेछाप नगरपालिकाबाट व्यवस्थापन गर्ने काम भएको छ । आगलागी पीडितका लागि खाद्यान्न, ओड्ने र ओछ्याउने म्याट, भाँडाकुडा लगायतका सामाग्री व्यवस्थापन गरिएको रामेछाप नगरपालिकाका उप–प्रमुख सिर्जना खड्काले जानकारी दिनुभएको छ ।

यस्तै सर्लाहीको धनकौल गाउँपालिका–५ हरकठवामा आज दिउँसो आगलागी हुँदा १४ घर जलेका छन् । स्थानीय प्रदीप पासवानको घरबाट सुरु भएको आगोले १४ घरमा क्षति गरेको हो ।आगोले घरसहित खाद्यान्न, लत्ताकपडा नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक उमाशङ्कर प्रसाद यादवले जानकारी दिनुभयो ।

दिउँसो एक बजेदेखि सुरु भएको आगो प्रहरी, स्थानीय बासिन्दा र हरिवन नगरपालिकाको दमकलले तीन घण्टापछि निभाइएको थियो । प्रदीप पासवान, रामवली पासवान, जवाहिर पासवानलगायतको घर जलेको र क्षतिको विवरण सङ्कलनको काम भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै दोलखाको कालीञ्चोक गाउँपालिका वडा नम्बर–५ लापिलाङमा दुई वटा घर जलेर नष्ट भएका छन् । बिहान भएको आगलागीमा परि विकास थापा र कृष्णबहादुर थापाको घर पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

खाना पकाउने क्रममा कृष्णबहादुर थापाको घरबाट आगो सल्केको प्रहरीले जनाएको छ । आगलागीले दुई वटा घरसँगै घरमा रहेकाे अन्नपात नगद लगायत जलेर नष्ट भएका छन् । आगलागीबाट झण्डै ५० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको विवरण सङ्कलन भइरहेको प्रहरीले जनाएको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post