प्रेमीसँग मिलेर पतिको हत्या! खोजी दिन भन्दै पत्नीले दिएकी थिइन् प्रहरीमा निवेदन

प्रेमीसँग योजना बनाएर पतिको हत्यापछि पत्नीले नै प्रहरीमा खोजी गरिदिन प्रहरीमा निवेदन दिएको घटना सार्वजनिक भएको छ।

दाङको राप्ती गाउँपालिका वडा नं. ३ वसन्तपुरकी ५० वर्षीया उमादेवी चौधरीले आफ्ना पति ५४ वर्षीय लप्टेन चौधरी हराएको भन्दै प्रहरीमा खोजी गरिदिन भन्दै निवेदन दिएकी थिइन्।

फागुन ५ गतेको निवेदनमा उमादेवीले आफ्ना पति लप्टेन फागुन १ गते बिहान साढे ६ बजे काममा गढवा गाउँपालिका वडा नं. ३ गोवरडिया जान्छु भनी गएको भए पनि घर नर्फिएको र गाउँघर, आफन्तकहाँ खोजी गर्दा फेला नपरेको भन्दै खोजी गरिदिन आग्रह गरेकी थिइन्। सोही दिन खोजी गर्ने क्रममा लप्टेनको शव प्रहरीले गढवा गाउँपालिका-२ कोठरीस्थित राप्ती नदीमा फेला पार्‍यो। शवको सनाखत श्रीमती उमादेवी र आफन्तले गरेका थिए।

शव देखेपछि इलाका प्रहरी कार्यालय भालुवाङका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टको मनमा आशंका उब्जियो।

गाउँले तथा आफन्तले पनि लप्टेनको हत्या भएको आशंका गरे। केही गाउँले नै उमादेवी र उनका पतिको बीचमा राम्रो सम्बन्ध नभएको र उमादेवीको अर्कै व्यक्तिसँग प्रेम सम्बन्ध रहेको सुराक दिए। त्यसपछि प्रहरीले घटना अनुसन्धान गर्ने क्रममा उमादेवीले झूट लुकाउन सकिनन्। गढवा गाउँपालिका वडा नं. ३ मसुरियाका ५२ वर्षीय हनुमान चौधरीसँग उमादेवीको अवैध प्रेम सम्बन्ध रहेको तथ्य उजागर भयो।

अनि प्रहरीले हनुमानलाई घटना अनुसन्धानका लागि झिकाएर सोधपुछ गर्ने क्रममा लप्टेन हत्याको तथ्य पत्ता लागेको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

उमादेवी र हनुमानको अवैध प्रेम सम्बन्धबारे पहिलेदेखि नै गाउँघरमा चर्चा रहेको हुँदा त्यही कारण लप्टेनले गाउँघरमा बेइज्जत गरेको तथा उमादेवीलाई कुटपिट समेत गर्ने गर्दथे।

माघ २९ गते पनि पति लप्टेनले पत्नी उमादेवीलाई ज्यानमार्ने धम्की दिएको तथा आफूमाथि हातपात गरेको भनेर उमादेवीले हनुमानलाई फोनमा बताइन्।

हनुमानले लप्टेनको अवस्था कस्तो छ? भनेर सोधे।

उमादेवीले आफ्ना पति नशामा लठ्ठ रहेको हनुमानलाई बताइन्। दुबैका बीचमा लप्टेनको हत्या योजना बन्यो।

योजना अनुसार उमादेवीले घरको दक्षिण तर्फको कोठा खुला नै राखेर १२ वर्षीया छोरीलाई लिएर अर्कै कोठामा सुत्न गइन्।

उनीहरूको योजना अनुसार माघ २९ गते राति हनुमान सोही दक्षिणतर्फको कोठाबाट घरभित्र प्रवेश गरी मुड्किले लप्टेनको छातीमा आक्रमण गरेपछि उनी छटपटाउन थाले।

त्यसपछि भुइँमा लडाइ हनुमानले लप्टेनको घाँटी थिचेर हत्या गरेको देखिन आएको एसपी काफ्लेले बताए।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालका अनुसार लप्टेनको हत्यापछि हनुमानले मध्यरातमा आफैंले शव बोकेर लप्टेनको एक जोर जुत्ता समेत बोकेर लगि राप्ती नदीमा फालेको प्रहरी समक्ष स्वीकार गरेका छन्।

त्यसपछि उमादेवी र हनुमानबीच सल्लाह भयो। आफू जोगिनका लागि उमादेवीले नै पति लप्टेन बेपत्ता भएको भन्दै प्रहरीमा खोजी गरिदिन फागुन ५ गते निवेदन दिएको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीले उमादेवी र हनुमान दुबैलाई नियन्त्रणमा लिइसकेको बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जानकारी दिएको छ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post