जंगलमा भेटिएको शवको पहिचान हुनै सकेन, बोरामा भेटिएको थियो टाउको

सुनसरीको धरान–४ स्थित धरान–भेडेटार सडक छेउको जंगलमा गत बुधबार भेटिएको शवको अझै पहिचान हुन सकेको छैन । शवको पहिचान नहुँदा प्रहरीलाई घटनाको अनुसन्धान गर्न पनि सकस भएको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख डिआइजी अरुणकुमार बिसीले शवको पहिचान हुन नसक्दा घटनाको अनुसन्धान प्रभावित भएको बताए । गत बुधबार सो स्थानमा बोरामा मान्छेको टाउको तथा दाहिने खुट्टा एउटामा र त्यसको भोलिपल्ट बिहान घटनास्थलबाट उत्तर धरधरे भन्ने स्थानमा अर्को बोरामा बाँकी शरीर भेटिएको थियो ।

हामीले अहिलेसम्म शवको सनाखत गर्न सकेका छैनौं, अनुहार हेर्दा नेपाली नै हो भन्नेचाहिँ पहिचान भएको छ, उसले जनै लगाएको छ,’ बिसीले भने ।केही समय अगाडि मोरङको कटहरीको उखुबारीमा गाडिएको अवस्थामा शव फेला परे पनि प्रहरीले घटना अनुसन्धान तीव्र गतिमा गरेको थियो । तर, धरानको जंगलमा भेटिएको शवको विषयमा भने अनुसन्धान लम्बिने देखिएको प्रहरीकै भनाइ छ ।

उखुबारी हत्याकाण्डमा सीमकार्ड भेटियो र अनुसन्धान सफल भयो,’ बिसीले भने, ‘धरानमा भेटिएको शवका बारेमा अन्य केही क्लु भेटिएन । मानिस चिन्ने अवस्था पनि रहेन । उनको लुगा बाहेक अन्य केही अनुसन्धानलाई सहयोग हुने कुरा भेटिएन, मुख्य कुरा त उनको पहिचान नै भएन ।

प्रहरीले शव फालेको कहिले भन्ने पनि कन्फर्म गर्न सकेको छैन । बुधबार भेटिए पनि ३ दिन अगाडि नै ती व्यक्तिको हत्या भएको हुनसक्ने देखिएको प्रहरीको अनुमान छ । ‘एउटा बोरामा दाहिने खुट्टा र टाउको छ । त्यसदेखि अलिक पर अर्को बोरामा शरीर छ । हामीले सबै खोजी ग¥यौं,’ बिसीले भने, ‘धरान, भेडेटारतिरको हो जस्तो छैन । अलिक टाढाकै मान्छे हो जस्तो छ ।

बिसीले हत्याको घटना नयाँ नयाँ रुपमा आउन थालेको भन्दै चिन्ता व्यक्त गरे । ‘प्रहरीको अपराध अनुसन्धानमै चुनौती थपेको छ । अहिलेको सामाजिक सञ्जाल र युट्युवले अपराध गर्नेलाई नयाँ नयाँ आइडिया दियो,’ उनले भने, ‘अनुसन्धानमा प्रहरी पनि उत्तिकै अब्बल बन्नु आवश्यक छ ।

उक्त शव ३० देखि ३५ वर्षको व्यक्तिको रहेको प्रहरीको अनुमान छ । प्रहरीले शवको पहिचानका लागि स्केच सार्वजनिक गरेको छ ।

Pabitra Neupane

We would be more than delighted to receive your advice, loves and ideas. Help us to improve ourselves.

Post a Comment

Previous Post Next Post