तिहारको वास्तु : कता फर्किएर पूजा गर्ने ? के कुरामा ध्यान दिने ?

तिहारको पाँच दिन गरिने विभिन्न खाले पूजाहरू कसरी र कुन दिशामा फर्किएर गर्ने ? सामान्य हुँदाहुँदै पनि यो एउटा आधारभूत समस्या हो । 

यसैलाई हामी तिहारको वास्तुको रुपमा मान्छौं । अर्थात्, लक्ष्मी पूजादेखि भाइटीका लगाउँदासम्म गरिने सबै खाले धार्मिक कार्यमा वास्तुलाई ध्यान दिनुपर्ने बताउँछन्, पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य सचिव सूर्यप्रसाद ढुंगेल ।

सामान्य भाषामा भन्दा वस्तुको सिलसिला मिलाउनु नै वास्तु हो । अर्थात्, कुनैपनि सामग्रीलाई एकअर्कासँग मिलाएर राख्नु नै वास्तु हो । पछिल्लो समय वास्तु शब्दलाई घरभित्रको आन्तरिक सज्जासँग मात्रै जोडेर संकुचित अर्थमा बुझ्ने गरिन्छ । तर ढुंगेल भन्छन्, ‘हामीले कुनै नगर बसाउनु प¥यो भने पनि यसमा वास्तुको प्रयोग हुन्छ । त्यसैले घरभित्रको सज्जा मात्रै होइन, नगर विकास लगायतका सबै खाले वस्तुको व्यवस्थित सज्जा वा निर्माण नै वास्तु हो ।

तिहारको वास्तु

नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार आउँदैछ । यमपञ्चक पनि भनिने यो पाँच दिन हुने विभिन्न पूजा आफैँमा वास्तुसँग सम्बन्धित छ । कता फर्किएर पूजा गर्ने ? कुनकुन सामग्रीले पूजा गर्ने र कुन भगवानलाई कसरी पूजा गर्ने भन्ने कुरा तिहारको वास्तु अन्तर्गत् हेर्ने गरिन्छ । तिहारमा विभिन्न दिन गरिने पूजामा ध्यान दिनु पर्ने वास्तु के–के हुन् त ? सदस्य सचिव ढुंगेल यस बारेमा भन्छन् :

धन्तेरसदेखि भाइटीकासम्मको पर्वलाई तिहार भनिन्छ । यो पर्व विशेषगरी यमराज र यमुना एवं धनकी देवी मानिने लक्ष्मीको पूजासँग सम्बन्धित छ । त्यसैले दुवै पूजामा वास्तुलाई भने ध्यान दिनुपर्ने हुन्छ । यम पञ्चकको पहिलो दिन अर्थात् काग तिहारको दिन यमराजका प्रतीकको रुपमा कागको पूजा गरिन्छ । सोही दिन धन्तेरस अर्थात् लक्ष्मीलाई मन पर्ने सामग्रीहरु किनेर घरमा भित्र्याउने गरिन्छ । 

दोस्रो दिन कुकुरतिहार पर्छ । काग र कुकुरको पूजा गर्दा कुन दिशामा फर्किने भन्ने हुँदैन । यी पूजाहरु बिहान सूर्याेदयपछि जतिबेला गरे पनि हुन्छ । दिशा ज्ञान र समयको महत्व लक्ष्मीपूजाको दिन हुन्छ । लक्ष्मीपूजा सामान्यतया साँझमा गरिने पूजा हो । त्यसैले यो पश्चिमतर्फ लक्ष्मीको मूर्ति वा फोटो राखेर पूजा गर्नुपर्छ ।

पूजा गर्दा कता फर्किने ?

सदस्य सचिव ढुंगेलका अनुसार हिन्दु कर्मकाण्डमा बिहान र दिउँसोको समयमा गरिने सबैखाले पूजाहरु पूर्वी मोहोडा फर्किएर गर्ने गरिन्छ । साँझको समयमा गरिने सबै पूजाहरु पश्चिमी मोहडा फर्किएर गरिन्छ । शास्त्रअनुसार देवी देवताको पूजा गर्दा उत्तर दिशामा फर्किएर गरिन्छ । साथै, पितृ कर्महरु सबै दक्षिण दिशामा फर्किएर गरिन्छ । यसरी विधा अनुसार फरक फरक दिशा किन ? ढुंगेल भन्छन् ‘उत्तरतर्फको दिशामा देवीदेवताको वास हुन्छ भन्ने शास्त्रीय मान्यता छ, दक्षिणतर्फ पितृहरुको वास हुन्छ । त्यसैले जसको पूजा गर्ने हो, त्यही दिशातिर फर्किएर पूजा गर्ने गरिन्छ ।

जुनसुकै पूजा गर्दा चन्द्रमाको सम्मुख वा दाहिनेपट्टि पारेर गरिन्छ । त्यसैले तिहारमा भाइटीका गर्दा पनि पश्चिम वा उत्तर फर्किएर पूजा गर्नुपर्छ भन्ने मान्यता छ । तर कसैकसैले पश्चिम फर्किएर पनि पूजा गर्ने गरेको ढुंगेल बताउँछन् । कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाको दिन चन्द्रमा उत्तर दिशामा हुने भएकोले शास्त्रीय मान्यता अनुसार उत्तर वा पश्चिम फर्किएर पूजा गर्नुपर्ने ढुंगेलको मत छ ।

पूजा गर्ने समयमा देवीदेवतालाई सबैभन्दा अघि राखिन्छ । पूर्वतर्फ बत्ती, पूर्वाेत्तर कुना (इसान)मा कलश राखिन्छ । लक्ष्मीपूजाको दिन लक्ष्मीको घडालाई बीचमा राखिन्छ । आग्नेय कोणमा गणेश राखिन्छ । कोहीकोहीले पूर्वाेत्तर कुनामा दियो अनि कलश राख्ने गर्छन् । भाइटीकाको दिन पहिले दियो, कलश, गणेश, यमुना, यमराज, अष्ट चिरञ्जीवी लगायतको पहिलो पूजा गरेर अनि मात्रै भाइपूजा गरिन्छ । ढुंगेल भन्छन् ‘वास्तुका अनुसार धनतरेसदेखि भाइटीकाको दिनसम्म घरको मुख्यद्वारमा स्वस्तिक चिह्न बनाउनुपर्छ । यस्तो स्वस्तिक चिह्न बेसार, अक्षता आदिको प्रयोग गरेर बनाइन्छ । यो लक्ष्मीलाई खुसी बनाउने कला हो ।

धन्तेरसको दिन पनि दियो बाल्ने, २१ वटा चामलको अक्षता लिएर अभिमन्त्रित गर्नुपर्छ, श्रीसूक्तको पाठ गर्ने, चाँदीको सिक्का खरिद गर्ने वा पूजा गर्ने, काँचो बेसारको टुक्रालाई पूजा गर्ने, श्रीयन्त्रको पूजा गर्ने गरिन्छ ।

Hitraj Sanjyal

Hitraj Sanjyal is a passionate blogger and educator based in Nepal. With a keen interest in government job exams and educational advancement, Hitraj aims to provide valuable information and resources to his readers. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post