घरको ऋण तिर्न माधव कतारमा, न घर रह्यो न परिवार

काठमाडौं : पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङका माधव पौडेलले पुरानो घर भत्किने अवस्थामा पुगेपछि गाउँमै अर्को घर किनेर परिवारलाई त्यसमा राखे। बुवाले सानैमा बनाएको घर बस्न नमिल्ने भएपछि उनले गाउँकै एक महिलाको घर किनेका थिए।

बूढी भइसकेकी आमासहित ६ जनाको परिवार किनेको घरमा सरेको पनि आउने मंसिरमा २ वर्ष पुग्छ। सानैमा बुवाले छाडेर गए। त्यसमाथि आर्थिक स्थित निकै नाजुक भएकाले आफैंले नयाँ घर बनाउन नसक्ने लागेर उनले गाउँकै एकल वृद्धाको घर किनेका थिए।

५ जनाको परिवार त्यही घरमा राखेर रोजगारीका सिलसिलामा कतार गएका माधवको परिवारका कोही पनि बाँकी रहेनन्। हिजो (बिहीबार) राति घरमाथिबाट आएको पहिरोले घर पुरिँदा उनले आमा, पत्नी, दुई छोरी र एक छोरा सबैलाई एकैरातमा गुमाए। राति सवा २ बजेतिर गएको पहिरोमा घर पुरिँदा ७० वर्षीया आमा कौशिल्या, ३५ वर्षीया पत्नी भगवती, छोरीहरू १५ वर्षीया विमला र ११ वर्षीया विनिताका साजै ९ वर्षका छोरा विनोदलाई सधैंका लागि गुमाए।

‘बाबुले बनाएको पुरानो घर भत्किने डरले नयाँ घर किनेर परिवार त्यसमा राखी आफू कतार गएका हुन्, फर्किन नपाउँदै यता पहिरोले परिवार नै सखाप पारिदियो,’ वडाध्यक्ष तेजप्रसाद पाध्याले भने, ‘गाउँकै सोझो र निकै मिलनसार मान्छे हुन् उनी, उनैमाथि यति ठूलो बज्रपात भयो।’

तेजप्रसादका अनुसार ​त्यो घर पनि उनले २ वर्ष कतार बसेर कमाएको रकमले किनेको र अझै केही पैसा तिर्न बाँकी छ। घरको बाँकी तिर्न र परिवारको लालनपालनका लागि फेरि कतार गएका माधवसँग अब घर परिवार केही बाँकी नरहेको उनले सुनाए।

सानैमा बुवा बितेपपछि वृद्ध आमा र परिवार लालनपालनको जिम्मेवारी पूरा गरिरहेका थिए,’ उनले भने, ‘आफू नआउन्जेल दाहसंस्कार नगर्न भनेका छन्, ५ जनाको शव कसरी हेर्न सक्लान् ? हामी त केही सोच्नै सकिरहेका छैनौं।’ माधवले आफू कतारबाट भोलि आउने खबर गरेको उनले बताए।

घर बेच्ने वृद्धा पहिरोबाट जोगिइन्

माधवलाई घर बेचेकी वृद्धा पनि सोही घरमा बस्छिन्। पतिको निधन भइसकेको र छोरीहरूको पनि बिहे गरेर गइसकेपछि उनी एक्ली छिन्। उनलाई बाँचुन्जेल त्यही घरमा बस्न दिने सर्तमा माधवले घर किनेको तेजप्रसादले बताए। उनी एउटा कोठामा बस्दै आएकी छिन्।

‘घरमा बस्ने अरु सबैको नामोनिसान पहिरोले मेटायो तर वृद्धा बस्ने कोठा भने अचम्मलाग्दो रूपमा जोगियो’, उनले भने, ‘त्यही भएर उनी जोगिइन्।’ वृद्धा कराएको सुनेर नै छरछिमेकीले घटना थाहा पाएका थिए। घर बेच्ने वृद्धा र किन्ने माधव दुवै बेघरबार बनेका छन्। श्रोत: थाहा खबर

Hitraj Sanjyal

I'm a blogger, with a keen interest in technology advancement, my aim is to provide valuable information, practical tips, inspiring stories and resources. facebook instagram twitter youtube

Post a Comment

Previous Post Next Post